
ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने भएको छ ।
गाउँपालिकाले मंगलवार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म शुल्क नलिने जानकारी दएिको हो । ‘ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम प्रवेश शुल्क लिन गरेको निर्णयविरुद्ध सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको र सो रिट उपर सम्मानित अदालतबाट तत्कालको लागि शुल्क नलिन अन्तरिम आदेश जारी भएको भन्ने ब्यहोरा जानकारी हुन आएकोमा सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने ब्यहोरा सबैमा जानकारी गराइन्छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं महानगरपालिका लगायत २३ वटा स्थानीय तहहरूले विगत १८ वर्षदेखि अस्त–व्यस्त रुपमा फोहोरमैला फाल्दै आएको सम्बन्धमा स्थानीयबासीले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।
