
लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।
साउनको पहिलो बुधवारदेखि लागू हुने गरी हरेक बुधवार बिहान ९ बजेदेखि १२ गतेसम्म मात्र टिकट काट्ने पर्यटकका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।
हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ रहेको छ । अब नेपाली नागरिकले हरेक बुधवार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउनेछन् भने भारतीय नागरिकले ३७५ भारु र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।
अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । यसबाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ ।
लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यावसायिक सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दू धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेको छ ।
मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको आयोजना प्रमुख गोकुल साउँदले जानकारी दिए ।
टप स्टेसनमा सय वर्ष पुरानो भगवती मन्दिर, महादेव शिवको बाहन नन्दी, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू छन् । साउन महिनामा टप स्टेसनमा जलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ ।
बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले ५० प्रतिशतका दरले बाँडफाट गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत केबलकारले दिने सम्झौता गरिएको छ ।