
नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको थिएन ।
यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाएर ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाएको छ ।
सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रसलगायत स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिकाबारे स्पष्ट पारिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।
बढी जोखिम भएका ठाउँहरू काठमाडौं ललितपुर, भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरूसँग बसेर कार्यक्रम गरिसकेको उनले बताए ।
डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्यांकअनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे । ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ,' उनले भने, 'पछिल्लो तथ्याङ्कअनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ ।’
मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको पनि बताए ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताए । डा.पुनले डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायस् भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले तीन तहकै सरकारले समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगुको संक्रमण थप फैलिनबाट रोक्न सकिने बताए । बर्सेनि डेंगुको संक्रमण बढिरहेकाले सरकार र आम नागरिकहरू पनि सचेत हुन जरुरी रहेको उनको भनाइ छ । डेंगु जोखिम शहरी इलाकामा बढी हुने उनले बताए ।
सामान्यतया डेंगु वर्षा र वर्षापछिको समयमा बढी देखिन्छ । नेपालमा सन् २००४ मा डेंगु संक्रमण पुष्टि भए यता लगातार बढिरहेको छ । गत वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका थिए ।
डेंगु संक्रमण तराईंबाट पहाड हुँदै अहिले हिमालमा पनि देखिने गरेको उनले बताए । ‘आगामी वर्ष पनि यो जोखिम निरन्तर हुने देखिन्छ । डेंगुको जोखिम गत वर्ष काठमाडौं शहरमा देखिएसँगै यो पटक कुनै नयाँ शहरमा नहोला भन्न सकिन्न,' उनले भने, 'पहिले तराईतिर देखिन्थ्यो । विस्तारै अहिले पहाडतिर सर्दै गएको छ । लामखुट्टेले बसाइसराईं गर्यो भने यसको जोखिम आगामी दिनमा थप बढ्दै जाने देखिन्छ ।’