
अर्थमन्त्री डा. प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो भ्रमणबारे जानकारी गराउँदै अर्थमन्त्री महतले अल्पविकसित र विकासोन्मुख मुलुकले भोगिरहेका विभिन्न खालका समस्या तथा चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सो सम्मेलन महत्त्वपूर्ण रहेको बताए ।
“सम्मेलनमा अल्पविकसित देशका समस्यालाई राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो । अल्पविकसित मुलुकले भोग्नुपरेको जलवायु परिवर्तनका समस्या, विश्वव्यापीरूपमा सूचना प्रविधि क्षेत्रको प्रयोगसँगै देखिएका चुनौती, डिजिटल कारोबारको व्यवस्थापन तथा यस्तो कारोबारको नियमनलगायतका विषय उठाइएका छन्”, अर्थमन्त्री महतले भने, “डिजिटलरूपमा भइरहेका कारोबारलाई कसरी व्यवस्थापन गर्ने र यसको करसँग जोडिएका विषयमा आफ्ना कुरा राख्ने अवसर पायौं ।”
अहिले विश्वभर आर्थिक वृद्धिदर न्यून देखिएको र कर्जा प्रवाहसमेत घटिरहेको विषयमा जी–२० मुलुकले पनि चासो देखाएको अर्थमन्त्री महतले बताए। त्यस्तै आफ्नो भारत भ्रमणका क्रममा विकास साझेदार र दातृ निकायसँग पनि महत्त्वपूर्ण भेटघाट भएको अर्थमन्त्री महतको भनाइ छ ।
“विश्व बैंक, एसियाली विकास बैंकलगायतका दातृ निकायसँग छलफल भएको छ । भारत र चिनियाँ अर्थमन्त्रीसँगको भेटमा द्विपक्षीय लगानी, व्यापारलगायतका विषयमा छलफल भएको छ । भारतका निजी क्षेत्रका उद्योगी व्यवसायीसँग नेपालमा लगानी गर्ने विषयमा महत्त्वपूर्ण भेटघाट रह्यो”, अर्थमन्त्री महतले भने ।