राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्या घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्क गरेका हुन् ।
बिहीवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे ।
त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्षभित्रमा नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुर्याउने तर्क सांसद गौतमको छ ।
‘म ती साथीहरूलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ । बरु अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण, औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस्, सेनाले गरेर देखाउँछ । उसले ५ वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन, विदेश पठाउने (निर्यात गर्ने) गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौं ।’
गौरवगाथाले भरिएको नेपाली सेनाको संख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै उनले बरु प्रतिनिधिसभा र प्रदेश सभा सदस्य संख्या घटाउन उपयुक्त हुने बताए ।
प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास हुनै नसक्ने उनको जिकिर छ ।
सांसद गौतमले पार्टीको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरेको भन्दै कांग्रेसप्रति आभार व्यक्त गरे । कम्युनिस्ट पार्टीहरूले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने उनको धारणा छ ।