
स्थानीय वासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौं महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ ।
महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित शहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए ।
‘साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै ४/५ दिनसम्म उठ्ने सम्भावना छैन,’ उनले भने, ‘कि मान्छे हटाऊ, कि फोहर हटाऊ भन्ने त्यहाँका स्थानीय वासिन्दाको मुख्य माग रहेको छ । बिस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो ।’
फोहर बिसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । ‘स्थानीय वासिन्दाले फोहरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन् । महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ,’ उनले भने ।
राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयको माग रहेको धुनिबेंसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए । राज्यले स्थानीयवासीलाई कहिलेसम्म समस्या समाधान हुनसक्छ भन्ने यकिन गर्नुपर्ने उनले बताए ।
यस सम्बन्धमा काठमाडौंमा भइरहेका विभिन्न सम्झौतालाई स्थानीयमाझमा ल्याई सहमति जनाउनुपर्ने उनको भनाइ थियो । ‘यति समयभित्र समस्या समाधान हुनसक्छ भन्ने ऐक्यबद्धता राज्यले जनाउनुपर्ने स्थानीयवासीको माग छ,’ उनले भने, ‘पटक–पटक महानगरपालिकासँग गरिएका सम्झौता के कति पूरा भए भन्नेबारे यकिन हुनुपर्छ । स्थानीयवासीको माग नयाँ होइन, पुरानै हो ।’