
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधिसभाका सदस्यको संख्या घटाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
२७५ सदस्य रहेको प्रतिनिधिसभालाई २०१ मा झारेर प्रत्यक्ष निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय समितिको चौथो दिनको बैठकलाई शुक्रवार सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित सांसदको थलो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
‘अहिलेको अवस्थामा गठबन्धन नगरी कुनै दलले बहुमत ल्याउने स्थिति छैन, त्यसकारण केही संवैधानिक प्रावधानलाई संशोधन गर्नुपर्छ । समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नेगरी २०१ जना प्रत्यक्ष निर्वाचित हुने संसदको व्यवस्था गरौं । राष्ट्रिय सभा पनि ३५ सदस्यको बनाऔं’ पौडेलले भने । प्रत्यक्ष निर्वाचन प्रणालीबाटै समावेशीतालाई सुनिश्चित गर्न सकिने उनले बताए ।
केन्द्रीय सदस्य पौडेलले एक जना व्यक्तिलाई संघमा चुनाव लड्न चार पटकभन्दा बढी टिकट दिन नहुने बताए । ‘एउटा व्यक्तिलाई कति पटक टिकट दिने ? केन्द्रमा चार पटक र प्रदेशमा २ पटकभन्दा नदिऔं । समानुपाति निर्वाचन प्रणालीको व्यवस्था नहटेसम्म एक व्यक्तिलाई एक पटकभन्दा बढी हुनुहुँदैन । सरकारमा नेतृत्व गर्दा पनि प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी हुन नपाउने व्यवस्था गरौं’ उनले भने ।
अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउने अवस्था नरहेको भन्दै कांग्रेसका अन्य नेताहरूले पनि प्रत्यक्ष निर्वाचन प्रणालीको वकालत गरिरहेका छन् ।