१८ असार २०८३, बिहीबार

अर्थतन्त्र सुधारमा सहयोग गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषलाई अध्यक्ष  ढकालको आग्रह

साउन ५, २०८०
काठमाडौं
अर्थतन्त्र सुधारमा सहयोग गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषलाई अध्यक्ष  ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल मिसन टोलीबीच शुक्रवार भेटवार्ता भएको छ । 

महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताएका थिए ।

बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालू पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण पुनर्कर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको उनको भनाइ थियो । साथै अध्यक्ष ढकालले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताए ।

बजारमा उद्यमी व्यवसायीहरू र उपभोक्ता दुवैको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्वपूर्ण विषय रहेकोमा अध्यक्ष ढकालले जोड दिएका थिए । सो अवसरमा कोषको मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकोले आफू महासंघ आएको बताएका थिए । उनले बजारमा माग घट्नुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखेका थिए ।

महासंघ अध्यक्ष ढकालले श्रीलंकाको अर्थतन्त्रजस्तो हुने आशंकामा बजारमा माग संकुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको जवाफ दिएका थिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताए । 

महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए ।

मिसन टोली प्रमुख टिन्डाले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताए । साथै यस विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्