
शुक्रवार बेलुका सार्वजनिक प्रकाश सपूतको गीत ‘दमाई महाराज’ले लोभलाग्दो भ्युज पाएको छ ।
शनिवार बिहानसम्म यो गीतलाई युट्युबमा ९ लाख हाराहारीले हेरिसकेका छन् । गीत युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ ।
‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भागका रुपमा प्रकाशले यो गीत सार्वजनिक गरेका हुन् । प्रकाशकै शब्द, संगीत रहेको गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । सुदिप सागरले संगीत संयोजन रहेको गीतमा केही कलाकारहरूको समूह गायन समेत रहेको छ ।
भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरीलगायतको अभिनय छ । गाउँमा आयोजित धार्मिक सप्ताहको परिवेशमा प्रकाशले भिडियोको कथा उनेका छन् । भजन शैलीमा तयार गीतको भिडियोले जातीय विभेदविरुद्ध सन्देश दिन्छ । ‘गलबन्दी’को कथासँग जोडेर प्रकाशले यसको भिडियो बनाएका हुन् ।