
काठमाडौंको ठमेलस्थित एलओडी क्लबले कानूनको परिधिभित्र रहेर व्यवसाय गरिरहेको स्पष्ट पारेको छ । कानूनभन्दा माथि कोही पनि नरहने स्पष्ट पार्दै क्लबले कानून पालना गर्न सधैँ तयार रहेको स्पष्ट पारेको हो ।
केही साताअघि एलओडी क्लबमा आएकी किशोरीलाई एक पुरूषले ललितपुरमा लागि बलात्कार गरेका थिए ।
घटना सार्वजनिक भएपछि नाबालिक किशोरीलाई प्रवेश दिएको भन्दै सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । क्लबले विज्ञप्ति जारी गर्दै किशोरीमाथि भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ । पीडित र परिवारप्रति क्लबको सदा साथ रहने प्रतिबध्दता जाहेर गरेको छ ।
'हामी कानूनभन्दा माथि छैनौं । कानूनको परिधिभित्र रहेर व्यवसाय गरेका छौं र गर्नेछौं । हरेक कुराको सुरक्षा गर्न क्लब कटिबद्ध छ । हामी आफूलाई जवाफदेही बनाउँछौं,' विज्ञप्तिमा बताइएको छ ।
क्लबले उक्त घटनालाई दुभाग्यपूर्ण भनेको छ । 'घटना क्लब परिसरमा भएको थिएन । क्लबभन्दा बाहिर भयो । केही कमी कमजोरी क्लब व्यवस्थापनको तर्फबाट भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'घटना क्लबभित्र भएको भए त्यसको सम्पूर्ण जिम्मा लिन सदा तयार छौं । कानूनको पालना गर्दागर्दै कोहीबेला हामीबाट थोरै चुक्न पुगेका छौं । यसमा क्षमा चाहन्छौ ।'
क्लबले कर्तव्य, मूल्य मान्यता, सामाजिक दायित्व र सिमाहरु भन्दा बाहिर गएको महसुस भइसककेको बताएको छ । यस्ता घटनाबाट पाठ सिक्ने र घटना फेरि नदोहोरियोस् भनेर सचेत र सजग भइसकेको क्लबको भनाइ छ ।
क्लबले सार्वजनिक क्षेत्र कभर गर्ने गरी सीसी क्यामेरा जडान गरिएको बताएको छ । जसले अवाञ्छित गतिविधिलाई रोक्न नियन्त्रण गर्ने क्लबको विश्वास छ । क्लब जानेहरूको सुरक्षा गर्न पनि तयार रहेको जनाएको छ ।