
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् ।
शनिवाार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले नेकपा एमालेप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेको दाबी गर्दै उनले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताए ।
जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढनुपर्नेमा जोड दिँदै उनले भने, ‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ । त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन । सिद्धान्त सोचेजस्तो हुँदैन । नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ । किन ? यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन् । यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरू र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरू, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुट्नु पर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौं ।’
अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए । पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको उनको जिकिर थियो ।