
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उनले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन् ।
नेपाली कांग्रेस बागलुङले आज ४१औँ विपी स्मृति दिवसका अवसरमा गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपणपछि मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका पाण्डेले विपीलाई व्यक्ति होइन, विचार हो भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए ।
उनले विपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । “विपीले देखाएको बाटोमा कांग्रेस हिँडिरहेको छ, अन्य दलहरूले समेत विपीको विचारलाई मान्ने गरेका छन्, तर विपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थक तुल्याउन नसकेको अवस्था छ”, मुख्यमन्त्री पाण्डेले भने, “उहाँले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आ–आफ्नो स्थानबाट लागौँ, देशमै उद्योगधन्दा, कलकारखाना र पर्यटनका माध्यमबाट देश आर्थिक समृद्धितर्फ जानेछ ।”
अब विपीको विचार र दर्शनलाई बोकेरमात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्तालाई मुख्यमन्त्रीले आग्रह गरे । मुख्यमन्त्री पाण्डेयले वृक्षरोपणसँगै कालिका मन्दिरको दर्शन गरेका थिए ।