
नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ ।
सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आंगिक क्याम्पसहरूमा छुट्याइएको ‘सिट’मा समेत विद्यार्थीको संख्या पुग्न सकेको छैन ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. पुण्य रेग्मी विद्यार्थीलाई देशमै भविष्य देखाउन नसके विदेशिनेको संख्या बढेर जाने बताए । उनले कृषि क्षेत्रमा विद्यार्थीको आकर्षण कम भएकोबारे गम्भीर बनेको जनाउँदै नीतिगत तहमा छलफल भइरहेको बताए ।
उनले भने, ‘विश्वविद्यालय सुधार गरेर विद्यार्थी र अभिभावकलाई आकर्षण गराउने खालको बनाउनुपर्छ, बन्द हड्ताल र समयमै पढाइ नसकिने परिपाटीको अन्त्य हुनुपर्छ ।’
विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक डा. ईश्वरी लौडारीका अनुसार क्याम्पसमा आवश्यक सिटभन्दा ५८४ विद्यार्थी कमी रहेका छन् । ‘विगतमा प्रवेश परीक्षा दिने विद्यार्थीको चाप थाम्न मुस्किल हुन्थ्यो । कुनै वर्ष ५ हजारसम्मले प्रवेश परीक्षा दिएको तथ्यांक छ,’ उनले भने, ‘अहिले विद्यार्थी नभएर कोटा समेत पूरा भएको छैन ।’
नेपालमा ‘बीएस्सी एजी’ पढाइ हुने क्याम्पस १६ छन् । त्यसमा ९ सरकारी र ७ वटा निजी क्याम्पस छन् । त्यसमध्ये सबै क्याम्पसमा कोटा खाली छ । सातै निजी क्याम्पसमा विद्यार्थीको संख्या ० छ । सरकारी क्याम्पसमा पनि विद्यार्थीको संख्या न्यून रहेको उनले बताए । कृषि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १६ क्याम्पसमा ९३४ विद्यार्थीको कोटा छ । त्यसमध्ये सरकारी क्याम्पसमा ५५४ र निजी क्याम्पसमा ३५० रहेको छ तर हाल ३५० विद्यार्थीले मात्र अध्ययन गरिरहेका छन् ।
हाल पढिरहेका विद्यार्थी पनि सरकारी क्याम्पसकै हुन् । अझै सरकारी क्याम्पसमा पनि २३४ विद्यार्थीको कोटा खाली रहेको उनले बताए ।
नवलपरासीको गैंडाकोटस्थित हिमछाया क्याम्पसमा स्नातक तहको कृषि र वन विषयको पठनपाठन हुन्छ । ८ वर्षअघि स्थापित यो क्याम्पसमा यस वर्ष कृषिमा विद्यार्थी नै भर्ना भएनन् । वन विषय अध्ययन गराउने ५० जनाको कोटा रहेकोमा ४ जना मात्रै भर्ना भए । अघिल्लो वर्ष भने २५ विद्यार्थी भर्ना भएका थिए ।
कलेजका निर्देशक छविलाल कँडेल विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा ५० प्रतिशत पनि विद्यार्थी उत्तीर्ण नभएका कारण विद्यार्थी भर्ना हुन नसकेको बताउँछन् । कठिन प्रश्नावली, कृषि प्राविधिकको क्षेत्रमा सरकारले लामो समयसम्म विज्ञापन नखुलाउनु र कक्षा १२ पास भएपछि विद्यार्थीलाई विदेश पठाउने गरेका कारण नेपालको शिक्षा प्रणाली धरासायी बन्दै गएको उनको भनाइ छ ।