
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सत्ता गठबन्धनभित्र बनेको समाजवादी मोर्चाबारे कांग्रेसले छलफल गर्नुपर्ने बताएका छन् ।
आइतवार कांग्रेस केन्द्रीय समितिको पाँचौं दिनको बैठकमा कांग्रेस नेता कोइरालाले माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी केन्द्र मिलेर बनेको समाजवादी मोर्चाबारे छलफल गर्न माग गरेका हुन् ।
‘राजनीतिक दलको बारेमा कुरा नगरौं भनेर यहाँ कुरा उठ्यो, तर गठबन्धनभित्र पनि अर्को गठबन्धन समाजवादी केन्द्र कसका लागि बनेको हो ? छलफल गर्न जरुरी छ’ कोइरालाले भने ।
कांग्रेसलाई दबाबमा राख्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बनाएको कांग्रेसकै कतिपय नेताहरूले टिप्पणी गरेका छन् ।
नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले कुनै प्रकारको गठबन्धन नबनाउने बताए । ‘हामी २०८४ सालमा एक्लै चुनाव लड्छौं र तीनवटै तहमा जित्छौ भन्ने प्रण गरौं’ कोइरालाले भने ।