काठमाडौँ, २९ भदौ- नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणमा सञ्चालक समितिका पदाधिकारीहरूको समेत मिलेमतो देखिएको छ । जग्गा खरिदमा निगम सञ्चालक समितिले गरेको निर्णय र संसदीय समितिमा पदाधिकारीहरूको बयानले जग्गा खरिदको अधिकार योजनाबद्ध रूपमा नै कार्यकारी निर्देशक गोपाल खडकालाई प्रत्यायोजन गरेको देखिएको हो ।

संसदको उपभोक्ता हित संरक्षण समितिले गठन गरेको उपसमितिले सञ्चालक समितिका पदाधिकारीहरूको समेत मिलेमतो भएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ । उपसमितिले आर्थिक अपव्यय, अपचलन र अनियमिततामा मन्त्रालयको उच्च नेतृत्वदायी जिम्मेवारीमा रहेका पदाधिकारी, आयल निगम सञ्चालक समितिका अध्यक्षलगायत सदस्यहरू खरिदमा जिम्मेवार रहेको ठहर्याएको छ । अधिकार प्रत्यायोजन गर्ने विवादास्पद निर्णयमा केही सदस्यले भने हस्ताक्षर नगरेको स्रोतले बतायो, कान्तिपुर दैनिकमा खबर छ ।