२३ जेठ २०८३, शनिबार

फिल्मको प्रचार गर्न विद्यार्थीमाझ पुगे केकी र सलोन

साउन ८, २०८०
काठमाडौं
फिल्मको प्रचार गर्न विद्यार्थीमाझ पुगे केकी र सलोन

अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को प्रचारमा निकै व्यस्त छन् । केही दिनमा फिल्म रिलिजको लागि अस्ट्रेलिया उड्न लागेका उनी विभिन्न मिडियालाई अन्तर्वार्ता दिने लगायत विभिन्न कार्यक्रममा सहभागी भएर फिल्मको प्रचार गरिरहेका छन् । 

यसैबीच आइतवार सलोन अभिनेत्री केकी अधिकारी र फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतलाई लिएर प्रज्ञा भवन पुगेका थिए । त्यहाँ एपेक्स कलेजले एक दिने भव्य कार्यक्रमको आयोजना गरेको थियो । कलेजले हरेक वर्ष गर्ने एक दिने सांस्कृतिक कार्यक्रममा फिल्मको टिम पुगेको हो । 

अभिनेता सलोन त्यहाँ पुगेर विद्यार्थीसँग अन्तरक्रिया गर्नुका साथै आफूले आजसम्म अभिनय गरेका फिल्मका संवाद बोलेर दर्शकलाई मनोरञ्जन गराएका थिए । उनले विद्यार्थीमाझ गीतसमेत गाएका थिए । यस्तै, अभिनेत्री केकी अधिकारीले पनि फिल्मको बारेमा जानकारी दिँदै आगामी भाद्र ८ गते रिलिज हुने ‘जय हो’ हेरिदिन आग्रह गरेकी थिइन् । 

शोभित बस्नेतको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्ममा सलोन र केकीका साथमा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ लगायतको पनि अभिनय छ । 

फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह–सम्पादन, समीर मियाको भिएफएक्स रहेको छ । मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत छ । 

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्मका निर्माता राज के. अधिकारी र सुरज सरकार हुन् । सलोन–सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्