
विक्रम संवत् २०७३ असार २० गते ठेक्का सम्झौता भएर निर्माण शुरू गरिएको मनाङको नासों गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षाैंदेखि अलपत्र छ ।
संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ ।
तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको पुल ७ वर्ष बित्दा समेत बन्न सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सबइन्जिनीयर धनबहादुर गुरुङले बताए ।
‘पुलको दुवैतिर जग मात्र बनेको छ, बाँकी अलपत्र छ,’ उनले भने, ‘निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि काम हुन सकेको छैन ।’ निर्माण कम्पनी क्याराभानले पुल निर्माणको जिम्मा पाएको थियो ।
स्थानीय तह नबन्दै निर्माण शुरू भएको मनाङकै मस्र्याङ्दी नदी पुल पनि वर्षाैंदेखि अलपत्र अवस्थामा छ ।
यीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत १६ पूर्वाधार आयोजना रुग्ण अवस्थामा छन् । यसमा १३ सडक र ३ पुल आयोजना छन् ।
पर्वतको मिलचोक–सल्यान–घाहाखेत–धारापानी–ठोटनेरी सडक, स्याङ्जाको मिर्मि–बिर्घा–रानीघाट, वालिङ–काफलडाँडा–रोग्दी–रामपुर सडक, मनाङको दूधखोला र मस्र्याङ्दी नदी पुल र गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड) अलपत्र छ ।
तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेंदी जोड्ने सडक, दुलेगौंडा–हर्कपुर मार्ग, रिसिङ–भीरकोट, कृष्ण मार्ग (देउराली–केलादीघाट), नवलपुरको मकुन्दुपुर–अहाले–रतनुपर हुँदै बुलिङटार जोड्ने सडक, चिसापानी पक्की पुल, कास्कीको बेगनास भञ्ज्याङ–आनन्दज्योति सडक, फुर्सेखोला–मट्टीखान सडक रुग्ण अवस्थामा छ ।
पूर्वाधार विकास कार्यालय बागलुङ अन्तर्गत कुश्मिसेरा–राङखानी–नाम्दुक–बरेङ–शान्तिपुर र गलकोट–हरिचौर–हिल–तारा–रुम जोड्ने सडकको काम पनि सुस्त गतिमा भइरहेको छ । दुवै आयोजना बहुवर्षीय हुन् । बागलुङको गलकोट हुँदै म्याग्दीको रुम जोड्ने ४० किमि सडक सडकमध्ये १० किलोमिटर कालोपत्रका लागि विक्रम संवत् २०७६ सालमा ठेक्का भएर निर्माण अघि बढेको थियो ।
निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले दोस्रो पटक म्याद थपिए अनसार विक्रम संवत् २०७९ पुस गतेदेखि काम शुरू गरेर आउँदो कात्तिक २५ गतेसम्ममा सक्नुपर्नेमा अझै काम शुरू हुन सकेको छैन । २४ करोड ७८ लाखको ठेक्कामा बन्न लागेको उक्त खण्डमा अहिलेसम्म जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति छ ।
सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको स्थानीयवासीको गुनासो छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले गत वर्ष मन्त्रालय अन्तर्गत ४६ पूर्वाधार आयोजना रुग्ण रहेकामा यो वर्ष घटेर १६ मा आइपुगेको बताए । उनले काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थालिने बताए ।
‘कतिपय ठेक्काको धरौटी जपथ गरिएको छ, केहीमा कारबाहीको प्रक्रिया पनि अगाडि बढेको छ, पटक–पटक ताकेता गर्दा पनि काममा ढिलासुस्ती गर्ने कम्पनीलाई सधैंभर छुट दिन सकिँदैन,’ प्रवक्ता पौडेलले भने ।
मनाङको मस्र्याङ्दी नदी पुल, गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड), तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेंदी जोड्ने सडक, दुलेगौंडा–हर्कपुर मार्ग, फुर्सेखोला–मट्टीखान सडक ठेक्काको धरौटी रकम जपथ गरिएको मन्त्रालयले जनाएको छ । अधिकांश आयोजना निर्माण कम्पनीकै ढिलासुस्तीका कारण अलपत्र परेको मन्त्रालयको भनाइ छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले रुग्ण आयोजनालाई गति दिइने बताए । ‘मन्त्रालयको वार्षिक समीक्षामा पनि यो विषयमा गम्भीर ढंगबाट छलफल भएको छ, वर्षौंसम्म काम नभएका आयोजनाको ठेक्का तोडिन्छ,’ उनले भने, ‘आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय स्पष्ट र दृढ छ ।’