
नेपालबाट भइरहेको सुन तस्करी सम्बन्धमा संसदमा छलफल गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । सांसद निशा डाँगीसहित १६ जना सांसदले बुधवार प्रतिनिधि सभामा दर्ता गराएको प्रस्तावमा सुन तस्करीबारे संसदमा छलफल गरेर सरकारलाई नीतिगत सुझाव दिन माग गरिएको छ ।
रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाले समर्थन गरेका छन् । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सभामुखले उपयुक्त दिन तोकी छलफल गराउने प्रतिनिधि सभा नियमावलीमा व्यवस्था छ ।
रास्वपाले सुन तस्करी नियन्त्रणका लागि संसदमा छलफल गर्न माग गरे पनि मन्त्रीहरूको राजीनामा माग्नेबारे कुनै निर्णय गरेको छैन । ‘तस्करी नियन्त्रणका लागि सरकारले काम गरिरहेको समयमा हामी कसैको राजीनामा माग गरेर विषयलाई डाइभर्ट गर्दैनौं’ रास्वपाका एक नेताले भने ।
तस्करी गरेर ल्याइएको झण्डै १ क्विन्टल सुन साउन २ गते काठमाडौं विमानस्थल भन्सार कार्यालय नजिकबाट समातिएको थियो ।
रास्वपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लहलहैमा नलाग्ने बताएको छ । प्रतिनिधि सभाको बैठक बुधवार दिउँसो बस्दै छ ।
यस्तो छ सार्वजनिक महत्त्वको प्रस्ताव

