
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा धेरै आलोचना हुन्छ जस्तो लागे पनि कम भएको भन्दै सदस्यहरूलाई धन्यवाद दिएका छन् ।
७ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकको समापन गर्दै देउवाले कम आलोचना गरेकोमा धन्यवाद दिएका हुन् ।
‘धेरै आलोचना होला भन्ने ठानेको थिएँ तर कम आलोचना गरिदिनुभयो, यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने, ‘हामीले जीवन्त लाइभ गर्यौं । नयाँ अभ्यास गरेर कांग्रेस कोहीभन्दा कम छैन भन्ने सन्देश दिएका छौं ।’
अर्को मिटिङको हतार पनि साथीहरूलाई देखिएको भन्दै देउवाले समय घोषणा गर्न तयार रहेको पनि बताए ।
‘साथीहरूलाई अर्को मिटिङको हतार छ । साथीहरूको चाहनाअनुसार अहिले घोषणा गर्ने भए पनि गरौं,’ देउवाले भने । ११ महिनापछि कांग्रेसको केन्द्रीय समितिको बैठक ७ दिन बसेर सकिएको हो ।
पार्टीले योगदान गरेकालाई नबिर्सिने पनि बताए । महासमिति बैठक गर्ने निर्णय गरिएको भन्दै नीति महाधिवेशनलाई कसरी व्यवस्था गर्ने भन्नेमा पदाधिकारी, पूर्व पदाधिकारीबीच फेरि पनि छलफल गर्न सकिने देउवाले बताए ।