२३ असार २०८३, मंगलबार
नियुक्ति असंवैधानिक भएको सर्वोच्चको ठहर

२२ दिनमै पदमुक्त भए कोशीका मुख्यमन्त्री थापा

साउन ११, २०८०
विराटनगर
२२ दिनमै पदमुक्त भए कोशीका मुख्यमन्त्री थापा

कोशी प्रदेश सरकार एक महिना नबित्दै ढलेको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेसँगै कोशी सरकार ढलेको हो । 

गत असार २७ गते न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई प्रदेशमा ‘दीर्घकालीन असर पुग्ने निर्णय नगर्न’ अन्तरिम आदेश दिएको थियो । त्यो आदेशसँगै थापा नेतृत्वको सरकार कामचलाउ मात्रै बनेको थियो ।

एक सातामै काम चलाउ बनेको सरकार २२ दिनमा ढलेको हो । थापा मुख्यमन्त्री बनेको २२ दिनमै पदमुक्त भएका छन् । 

थापा गत असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरबाट थापा मुख्यमन्त्री बनेका थिए । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । 

थापा नेपाली कांग्रेसका २९ ,नेकपा माओवादी केन्द्र १२ , नेकपा एकीकृत समाजवादी ४ जनता समाजवादी जसपाका १ र सभामुखको हस्ताक्षरमा मुख्यमन्त्री बनेका हुन् । 

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । ४७ पुर्‍याउन उनले सभामुखलाई प्रयोग गरेका थिए । दुई चरण गरेर मुख्यमन्त्री थापाले मन्त्रिमण्डल विस्तार गरेका थिए  । 

मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमल जवेगुलाई पहिलो चरण तथा माओवादीका जीवन आचार्य, राजेन्द्र कार्की र काँग्रेसका रामकुमार खत्रीलाई दोस्रो चरणमा मन्त्री बनाएका थिए । जीवन आचार्यलाई  उनले मन्त्रालयको जिम्मेवारी समेत दिएका थिएनन् । आचार्य भने आर्थिक मामिला तथा योजना मन्त्री हुन् । 

सत्ताबाट बाहिरिएको भोलिपल्ट नै एमालेले मुख्यमन्त्री थापा विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चमा असार २२ गते दर्ता गरिएको रिटमा थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ को उपधार ३ अनुसार प्रदेशसभामा रहेको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न एमाले संसदीय दलका नेता हिक्मत कार्कीले माग गरेका थिए ।

सर्वोच्चले थापालाई पदमुक्त गरे पनि कार्कीको माग बमोजिम ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश भने दिएन ।

salt training

कमेन्ट गर्नुहोस्