०५ असार २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

साउन ११, २०८०
काठमाडौं
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्तप्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये मौसम मग्रातीले टोकमान गुरुङलाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको, अन्नत श्रेष्ठले योगेन्द्रबहादुर साउदलाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ८ लाख ठगी गरेको र प्रचलन राईले समरबहादुर परियारलाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ६ लाख ठगी गरेको खुल्न आएको छ ।

पक्राउ परेका श्रेष्ठलाई काठमाडौंको जोरपाटी नारायणटारबाट, मग्रातीलाई काठमाडौं काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्