२४ जेठ २०८३, आइतबार

कोशी प्रदेशलाई मध्यावधिमा जान नदिन एमाले–कांग्रेस मिल्नुपर्छः लिङ्देन

साउन ११, २०८०
विराटनगर
कोशी प्रदेशलाई मध्यावधिमा जान नदिन एमाले–कांग्रेस मिल्नुपर्छः लिङ्देन

सर्वाेच्च अदालतको फैसलाले पदमुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पुनः सरकार गठनको प्रयास गर्ने बताइरहँदा राप्रपाले भने सत्ता गठबन्धनलाई नसघाउने स्पष्ट गरेको छ । 

 राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश जोगाउने भए एमाले र काँग्रेस नै मिलुन् भन्ने पार्टीको चाहना रहेको बताए । ‘पहिलादेखि नै एमाले–काँग्रेस मिलेर प्रदेश जोगाउनुहोस् भनेर हामीले भनिरहेका छौँ,’ लिङ्देनले लोकान्तरसँग भने, ‘अहिले हामीले सत्ता गठबन्धनलाई सघााउनेबारे कुनै निर्णयमा पुगेका छैनौँ।’ प्रदेशलाई मध्यावधिमा जान नदिनका लागि ठुला दुई दल मिल्नुपर्ने उनको भनाइ छ । 

सभामुख बाबुराम गौतमसहितको समर्थनमा थापा गत असार २१ गते मुख्यमन्त्री बनेका थिए । बिहीबार सर्वाेच्चको आदेशसँगै उनी पदमुक्त भएका छन् । 

गठबन्धनले सर्वाेच्चको आदेश बमोजिम संविधानको धारा १६८ (२) अनुसार सरकारमा दाबी गर्ने थापाले बताए ।  राप्रपाले साथ नदिएको खण्डमा थापालाई बहुमत पुग्न कठिन देखिएको छ । 

कोशीमा नयाँ सरकार बनाउन सजिलो भने छैन । नयाँ सरकार बनाउन सत्ता र एमाले नेतृत्वको दुवै गठबन्धनसँग बहुमत छैन । एमालेले जसपालाई साथ दिएको खण्डमा पनि सरकार बन्न सक्छ । तर केन्द्रीय सत्ता गठबन्धनमा जसपा भएकाले अहिले नै एमालेलाई साथ दिने सम्भावना पनि कम छ । 

एमालेका ३९ र राप्रपाका ६ गरी ४६ सांसद छन् । जसपाका एक सांसद छन् ।  सत्ता गठबन्धनलाई राप्रपाले साथ नदिएको खण्डमा भने सभामुख बाबुराम गौतमको राजीनामा अन्तिम विकल्प हो । तर सभामुख गौतमले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताए । 

सत्ता गठबन्धनमा काँग्रेस २९, माओवादी केन्द्र सभामुखबाहेक १२ र एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । सत्ता गठबन्धनका सांसदको सङ्ख्या पनि ४६ नै पुग्छ । ९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन  ४७ सांसदको आवश्यकता पर्छ । राप्रपाले साथ नदिएको खण्डमा भने १६८ (३) बमोजिम सरकार गठनको प्रक्रिया सुरु हुनेछ । त्यसो हुँदा सबैभन्दा ठुलो दल एमालेको नेतृत्वमा सरकार बन्ने बाटो खुल्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्