नेपाल कला परिषद्ले भारतमा हुने बिहार म्युजियम २०२३ मा सहभागिता जनाउने भएको छ । ‘टुगेदर वी आर्ट’ शीर्षकको प्रतिष्ठित प्रदर्शनीमा सहभागी बन्ने परिषद्ले जनाएको छ ।
नेपाली साँस्कृतिक सम्पदा प्रदर्शनीका लागि संग्रहालयले करिब ४ हजार वर्गफिट स्पेस छुट्याएको छ । पटनाको बिहार संग्रहालयमा हुने प्रदर्शनीमा ‘नेपाल – जहाँ देवताहरूको बास हुन्छ’ शीर्षक चयन गरिएको छ ।
७ अगस्टदेखि ७ अक्टोबरसम्म चल्ने कला प्रदर्शनीमा ६६ कलाकारका २०५ कलाकृतिहरू प्रदर्शन गरिनेछ । जुन प्रदर्शनीमा देशबाहिर रहेका नेपाली कलाकारहरूको सबैभन्दा ठूलो प्रतिनिधित्व हुने परिषद्को विश्वास छ ।
यसअघि परिषद्ले २०१९ मा भएको विश्वको प्रसिद्ध एथनोग्राफिक संग्रहालय मध्येको एक वेल्टम्युजियम भियनामा नेपाल आर्ट नाउ प्रदर्शनीमा प्रतिनिधित्व गरेको थियो ।