
काठमाडौं, २९ भदौ — बलिउड अभिनेत्री कंगना रनावत आजकल समाचारमा छाएकी छन् । एउटा अन्तर्वार्ताका कारण उनले बलिउडलाई नै हल्लाएकी छन् ।

‘आप की अदालत’ नामक टीभी कार्यक्रममा उनले हृत्तिक रोशनका साथसाथै आदित्य पञ्चोलीलाई पनि आक्रमण गरिन् । आदित्यले आफूलाई करीयरको शुरुवाततिर घरमा थुनेर राखेको कंगनाले आरोप लगाइन् ।
त्यतिमात्र नभएर आदित्यले आफूलाई कुटपिट गरेको समेत उनले बताइन् ।
यो सुनेपछि रिसाएका आदित्यले ‘कंगना पागल हो र उसविरुद्ध कानूनी प्रक्रिया चलाउँछु’ समेत भने ।
आदित्यले हालै एक मनोरञ्जन न्युज पोर्टललाई दिएको अन्तर्वार्तामा कंगनाका विषयमा खुलेर कुरा गरेका छन् ।
उनले भने, ‘कंगना नातावादको कुरा गर्छिन् तर उनी आफैं नातावादबाट अघि बढेकी हुन् । मैले नै उनलाई महेश भट्टकहाँ लगिदिएको हुँ । मैले जतिन कामपानीबाट उसको फोटोशूट नगराएको भए आफैं गर्न सक्थी र उसले ? उसले अडिसनको लामो लामो लाइनमा कहिल्यै बस्नुप–यो त ?’
आदित्यले थपे, ‘हो, म कंगनालाई प्रेम गर्न थालेको थिएँ । अब सोचविचार गरेर प्रेम हुने हैन । म पनि मान्छे नै हुँ, सन्त महात्मा हैन । मैले उसलाई कुदृष्टिले कहिल्यै हेरिनँ तर प्रेम भने गर्न थालें ।’
‘पछि उसको ग्यांगस्टर भन्ने फिल्म आयो र हिट पनि भयो । अनि त उसको भाउ बढ्यो । मलाई त हेप्न थाली उसले । मलाई चित्त दुख्यो तर सहिरहें । उसलाई फिल्म इन्डस्ट्रीमा ल्याउने मानिस नै मै हुँ ।’
आदित्यले भने, ‘मैले कंगनालाई केको कुटपिट गर्नु नि ? माया गर्थें उसलाई । उसले मेरो बेइज्जती नगरे हुन्थ्यो ।’
एजेन्सी