०५ साउन २०८३, मंगलबार

नवलपरासीमा १ अर्ब लगानीमा डाइपर उद्योग सञ्चालन, ४० प्रतिशत निर्यात गर्दै

साउन १३, २०८०
बुटवल
नवलपरासीमा १ अर्ब लगानीमा डाइपर उद्योग सञ्चालन, ४० प्रतिशत निर्यात गर्दै

औद्योगिक हबको रूपमा विकास भएको पश्चिम नवलपरासीको रामग्राममा १ अर्ब रुपैयाँको लगानीमा शिशुहरूका लागि प्रयोगमा आउने न्यानो र टेन्डर टच नामक डाइपर उद्योग सञ्चालनमा आएको छ ।

बज्रेश्वरी इन्डिस्ट्रिज प्रालिले भैरहवा परासी औद्योगिक करिडोरमा बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने सरसफाईमा प्रयोग गरिने डाइपर बजारमा ल्याएको हो ।

उद्योगले शुक्रवार रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलन तथा आफ्ना डिलरका प्रतिनिधिबीच उत्पादन सार्वजनिक गरेको छ । उच्च गुणस्तरका कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएको कम्पनीले जनाएको छ ।  

२ वर्षअघि उत्पादन शुरू गरेको उद्योगले उत्पादनको ४० प्रतिशत वस्तु निर्यात गर्दै आएको सञ्चालक एसपी ढकालले बताए । ‘हाम्रो उत्पादन अन्तर्राष्ट्रिय गुणस्तरको छ,’ ढकालले भने, ‘हाम्रो क्षमता प्रतिवर्ष २४ करोड पिस उत्पादन गर्नेछ । हाम्रो उद्योगले नेपालको कूल मागको ५० प्रतिशतसम्म थेग्छ ।’

सबै उमेर समूहका लागि आवश्यक पर्ने डाइपर उद्योगले उत्पादन गर्छ । विशेषगरी डाइपर नवजात शिशुको लागि बढी प्रयोग गरिन्छ । उद्योगले पहिलो वर्ष १ करोड ३० लाख पिस उत्पादन भारतमा बिक्री गरिसकेको छ । जसको मूल्य १३ करोड ५० लाख रुपैयाँ हुन आउँछ ।

उद्योगमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा हालसम्म ४ वटा डाइपर उद्योग सञ्चालनमा छन् । जसले गर्दा विदेशबाट भित्रिने डाइपरको आयात धेरै मात्रामा रोकिएको छ । बज्रेश्वरीले सन् २००५ बाट हुलास बिस्कुटबाट आफ्नो व्यवसाय शुरू गरेको थियो । 

बहुराष्ट्रिय कम्पनी जस्तै आफ्नो उत्पादन रहेकाले ब्राण्डिङ गरेर गाउँदेखि शहरका उपभोक्ताको समेत रोजाइमा परेको ढकालको दाबी छ । उनी आफ्नो उत्पादन र बहुराष्ट्रिय कम्पनीको उत्पादन दाँजेरै प्रयोग गर्न चुनौती दिन्छन् ।

‘हाम्रो उत्पादन राम्रो छ । विदेशीभन्दा सस्तो छ । उत्पादनदेखि प्याकेजिङसम्म विदेशीसँग प्रतिस्पर्धा गर्ने हैसियतको बनाएका छौं,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्