२६ जेठ २०८३, मंगलबार

कोशी सरकार गठन : कांग्रेस-माओवादीबीच मतभेद, बहुमत जुटे दाबी गर्ने एमालेको तयारी

साउन १३, २०८०
विराटनगर
कोशी सरकार गठन : कांग्रेस-माओवादीबीच मतभेद, बहुमत जुटे दाबी गर्ने एमालेको तयारी

कोशी प्रदेश सरकार गठनका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच मतभेद देखिएको छ । माओवादी र कांग्रेसबीच नयाँ सरकार गठनका विषयमा मतभेद देखिएको हो । सर्वोच्चले नियुक्ति प्रक्रिया असंवैधानिक ठहर गरेपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापा पदमुक्त भएका थिए ।

अदालतको फैसलापछि नयाँ सरकार गठनका विषयमा कांग्रेस–माओवादीबीच मतभेद देखिएको हो । माओवादीले कांग्रेसको हठका कारण समस्या उत्पन्न भएको आरोप लगाउन थालेको छ ।

आफूहरूले सक्दो सहयोग गर्दा पनि कांग्रेसले बहुमत पुर्‍याउन नसकेको माओवादीको आरोप छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरूले सक्ने सहयोग गरे पनि कांग्रेसले बहुमत पुर्‍याउन नसकेको माओवादी कोशी प्रदेश कमिटीका सचिव समेत रहेका प्रदेश सभा सदस्य गणेश उप्रेतीले बताए । ‘काग्रेसलाई सहयोग गर्दा सभामुख विवादमा पनि पर्नुभयो,’ उनले भने ‘हातखुट्टाले थिचेर हामीले त दियौं नि । तर कांग्रेसले बहुमत पुर्‍याउन सकेन । अहिले केन्द्रमा गठबन्धन भन्दै हामीलाई कांग्रेसले स्वतन्त्र निर्णय गर्नसमेत दिँदैन ।’

प्रदेशमा गठबन्धन नतोडिएसम्म सरकार बन्ने सम्भावना कम रहेको उप्रेतीको भनाइ छ । ‘ठूलो दलको नाताले एमालेले सरकारको नेतृत्व गर्नु पर्ने हो । केन्द्रमा हाम्रो एमालेसँग पानी बाराबार छ । कि एमाले–राप्रपा  गठबन्धन तोड्नु पर्‍यो कि हाम्रो गठबन्धन तोड्नु पर्‍यो,’ उनले भने, ‘दुई वटा गठबन्धन नतोडी सरकार बन्ने सम्भावना छैन । नत्र धारा ५ मा पुगेर कुनै बलवान् सांसदले सरकार बनाउन सक्नु पर्‍यो । ४६ –४६ को अवस्थामा प्रदेशमा कसरी सरकार बन्छ ।’ 

सभामुखले राजीनामा दिएर भए पनि सरकार गठन गर्न माओवादीले सघाउनु पर्ने कांग्रेसले प्रस्ताव गरेको छ । सभामुखको राजीनामा गराउन कांग्रेस लागेपछि माओवादी कांग्रेससँग कडा र एमालेसँग नरम हुन थालेको छ । 

सभामुखले राजीनामा दिने भए आफ्नो नेतृत्वमा सरकार बन्नु पर्ने माओवादीको अडान छ । ‘न उहाँहरू आफ्नो नेतृत्वमा बहुमत पुर्‍याउन सक्नुहुन्छ । नत माओवादीलाई स्वतन्त्र निर्णय गर्न दिनुहुन्छ,’ उनले भने, ‘‘यहाँ निर्णय गर्दा प्रचण्डलाई दबाब दिनुहुन्छ । कांग्रेसको लघुताभाष मानसिकताले फेरि पनि कोशीमा स्थायी सरकार बन्ने सम्भावना छैन ।’

कांग्रेस र एमाले मिलेर सरकार बनाउँछन् भने पनि माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बस्न तयार रहेको उनले बताए । तर, कांग्रेस बाधक भएर बस्न नहुने उनको भनाइ छ । 

कांग्रेस भने माओवादीले लगाएको आरोप स्वीकार्न तयार छैन । थालभित्र हात खुटा टेकेर मात्रै माओवादीले कांग्रेसलाई सहयोग गरेको कांग्रेसको आरोप छ ।

माओवादीले खुट्टासमेत थालमा टेकेर सहयोग गरेको कांग्रेस सांसद केदार कार्कीले तर्क गरे । थालभित्रै हात खुटा टेकेपछि खान नमिल्नेगरी सहयोग गरेको उनको आरोप छ । 

नेताहरूसँग गएर  एउटा बुटी लिएर आयो भने बाचिन्छ भन्ने मानसिकता गठबन्धनभित्र रहेका दलमा देखिएको कार्कीको भनाइ छ । ‘नेताहरूसँग गएर बुटी लिएर आयो भने बाचिन्छ भन्ने मानसिकता देखियो,’ उनले भने, ‘बुटी देखाएर बाचिने जमना सकियो । यो आधुनिक जमनामा औषधी चाहिन्छ । औषधी नखोज्ने बुटीतिर कुदेपछि त्यसको दुष्परिणाम भोगेको हो । दुष परिणाममा गठबन्धन सबैले जिम्मा लिनुपर्छ ।’

नयाँ सरकार बनाउन दुई वटै गठबन्धन तातिएका छन् । एमाले राप्रपाको गठबन्धन एकातिर छ भने कांग्रेस–माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धन अर्कोतिर छ । एमाले पनि साना दलसँग कुरा भएकाले दाबी पेस गर्ने सम्भावना कायम रहेको बताउन थालेको छ । साना दलले सहयोग गर्ने बचन दिए दाबी पेस गर्ने एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए । 

राप्रपाले भने अहिलेको सत्ता गठबन्धनमा भएको हठका कारण समस्या भएको आरोप लगाएको छ  ।

कोशीमा कांग्रेसका २९, नेकपा (माओवादी)का १२(सभामुखबाहेक) नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको १ गरी ४६ सांसद छन् । उता एमाले र राप्रपाका पनि ३६ सांसद नै छन् । यसअघि सभामुख बाबुराम गौतमको समेत छुट्टै हस्ताक्षर गराएर दाबी पेश गरिएको थियो । जुन अदालतले असंवैधानिक ठहर गरिसकेको छ ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले सर्वाेच्च अदालतको आदेश बमोजिम नयाँ सरकार गठनको आह्वान गरिसकेका छन् । सर्वाेच्च अदालतले बिहीवार दिएको आदेशपछि प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय साउन १६ गते अपराह्न ५ बजे सकिँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्