पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महशुल दर घटाएको छ ।
उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालू आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।
पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका रूपमा रहेको संस्थाले थोरैदेखि धेरै पानी उपभोग गर्ने उपभोक्तालाई ध्यानमा राखेर बर्सेनि महशुल दर घटाउँदै आएको छ । ८ युनिटसम्म न्यूनतम दर १७५ यथावत् राखिएको छ । ९ देखि २० युनिटसम्म (न्यूनतम रकम १७५ सहित) प्रतियुनिट ४० रुपैयाँ घटाएर ३० रुपैयाँ बनाइएको छ ।
२१ युनिटभन्दा माथि (न्यूनतम रकम १७५ सहित) प्रतियुनिट ६३ घटाएर ५३ रुपैयाँ महशुल कायम गरिएको संस्थाका अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले जानकारी दिए ।
३ हजार २०० धारा जडान गरी घरघरमा सफा, स्वच्छ र शुद्ध खानेपानी वितरण गर्ने संस्थाको लक्ष्य रहेको छ । ३ हजार ९२३ धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाएका छन् । अहिले ३ हजार ४९३ धारामा नियमित पानी वितरण भइरहेको छ । ४३० धारा जडान गर्न बाँकी छ । ७ हजार धारा जडान गर्न करीब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले जानकारी दिए ।
रामपुर–४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ । आयोजनाबाट हाल दैनिक बिहान–साँझ ३/३ घण्टा खानेपानी वितरण भइरहेको छ । खानेपानी वितरणका लागि १८० किलोमिटरभन्दा बढी पाइप जडान र ५ किलोमिटर फलामजडित पाइप विस्तार गरिएको छ ।
रामपुर–५ स्थित राम्चे सामुदायिक वनमा साढे ४ लाख लिटरका २ वटा (९ लाख लिटर) ट्यांकीबाट पानी वितरण भइरहेको छ । रामपुर–७ डुम्रीगाउँमा २ लाख लिटर र कार्कीडाँडामा डेढ लाख लिटरका ट्यांकी राखेर पानी वितरण भइरहेको संस्थाले जनाएको छ ।