२२ जेठ २०८३, शुक्रबार

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

साउन १७, २०८०
काठमाडौं
नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।

विभागले आर्थिक वर्ष २०७९/८० मा देशभर अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो ।

विभागले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटीबढी गरेका व्यापारीलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाएको बताउँछन् । ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,’ महानिर्देशक मिश्रले भने ।

कारबाही गरेकामध्ये सबैभन्दा धेरै काठमाडौं कार्यालयले रहेको छ । काठमाडौं कार्यालयले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

सोही आवमा काठमाडौंमा मात्र ११ हजार ४९१ व्यापारी कारबाही परेका छन् । पोखरामा २ हजार १८९, बुटवलमा १ हजार २४४, नेपालगञ्जमा १ हजार ४७९, सुर्खेतमा ५०१, धनगढीमा १ हजार २६ व्यापारी कारबाहीमा परेका छन् ।

सिलगढीमा २०२, वीरगञ्जमा १ हजार ४३६, जनकपुरमा ७२५, विराटनगरमा २ हजार ४०६ र झापामा १ हजार ३३४ व्यापारी कारबाही परेको विभागले जनाएको छ ।

विभागका प्रवक्ता ज्योति जोशी भट्ट गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याइने बताउँछिन् ।  ‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौं,’ उनी भन्छिन् ।

नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने ट्याक्सीको चेकजाँच गर्ने लगायतका कामबाट ७ करोड १६ लाख ११ हजार ८५ राजस्व संकलन गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्