०४ असार २०८३, बिहीबार

रुकुम पूर्वमा पहिलोपटक डेंगु संक्रमण पुष्टि, परीक्षण गर्ने किट न्यून हुँदा समस्या

साउन १७, २०८०
रुकुम पूर्व
रुकुम पूर्वमा पहिलोपटक डेंगु संक्रमण पुष्टि, परीक्षण गर्ने किट न्यून हुँदा समस्या
फाइल फोटो

रुकुम पूर्वमा पनि डेंगुको संक्रमण देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा रुकुम पूर्वमा रहेका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएको थिए ।

उनी बिरामी भएर जाँचका लागि मङ्गलवार अस्पताल पुगेका थिए । डेंगुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा डेंगु पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्रराज कोइरालाले जानकारी दिए । उनका अनुसार राईमा ज्वरो आउने र घाँटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो । 

पछिल्लो समय डेंगु बढ्दो क्रममा रहेकाले अस्पतालमा उपचारका लागि आउनेमध्ये लक्षण देखिएका शङ्कास्पद बिरामीमा परीक्षण गर्ने गरिएको डा. कोइरालाले बताए । सोही क्रममा राईको परीक्षण गर्दा जिल्लामै पहिलोपटक एक जनामा डेंगु पोजेटिभ देखिएको उनको भनाइ थियो ।

“अहिले अस्पतालमा डेंगु परीक्षण गर्ने किट सङ्ख्या न्यून मात्रामा छ । अब एक–दुई जना नयाँ सङ्क्रमित थपिनेबित्तिकै ज्वरो आउने सबैमा परीक्षण गर्नुपर्ने हुन्छ”, डा. कोइरालाले भने, “हामीसँग किट कम भएकाले त्यतिबेला समस्या पर्न सक्छ ।” जिल्लामा आवश्यक पर्ने किट उपलब्धताका लागि सरोकारवाला निकायसँग समन्वय  गरिरहेको उनले बताए ।
    
जिल्लामा सङ्क्रमण देखिएपछि अन्यमा पनि डेंगु हुनसक्ने भएकाले सबैले आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्सकले आग्रह गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्