
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी, पार्टीजस्तो नभएको भन्दै पुनर्निर्माणको प्रस्ताव गरेका छन् । पार्टीलाई एक्सन ओरिण्टेड बनाएर लैजानुपर्ने उनको भनाइ थियो ।
केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यही बैठकबाट पार्टी पुनर्गठनको अभियान शुरु गर्नुपर्ने बताएका हुन् । ‘नेता र कार्यकर्ताको पङ्क्ति छ, तर पार्टी पार्टीजस्तो भइरहेको छैन । कम्युनिस्ट पार्टी पुनर्निर्माणको थालनी यही बैठकबाट शुरु गरौं ।’
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टीमा केही उतारचढाव भए पनि निरन्तर जनताको पक्षमा उभिदै आएको दाबी गरे । ‘हाम्रो पार्टी कमी कमजोरी स्वीकार्न डराउँदैन । विगतमा पार्टी एकतालाई निरन्तर सुदृढ गर्न सकेनौं, अहिले फेरि एकीकरणको नयाँ अभियान शुरु भएको छ । समाजवादी मोर्चा निर्माण भएको छ ।’
पार्टी नेतृत्वको सरकारले लिएको पहलकदमीले जनतामा नयाँ आशा सृजना भएको उनले दाबी गरे । ‘जनताले हाम्रो पार्टीबाट जे जस्तो आशा गरेका छन् । हाम्रो नेतृत्वमा सरकारले लिएका पहलकदमी र गतिविधिले नयाँ आशा जनतामा पलाएको छ । जनतामा पलाएको आशा र भरोसालाई रुपान्तरण गर्ने काम यो बैठकले गर्नेछ’ उनले भने ।