
सरकारले सुन तस्करीमाथि छानबिन गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको बताइन् ।
“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन”, सञ्चारकर्मीको जिज्ञासामा उनले भनिन् ।
वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिति, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गरिन् ।
“अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ । सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ । सो विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले देखेको छैन”, विगतमा पनि सुन तस्करीको अनुसन्धान गर्न समिति गठन नबनेको दृष्टान्त प्रस्तुत गर्दै मन्त्री शर्माले भनिन् ।
विभागले यही साउन ३ गते विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा झन्डै एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा संलग्न भएको आशङ्कामा विभागले १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।