
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरूमा वर्तमान सरकारले आफ्ना नेताहरूलाई जोगाउने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् । पछिल्लो समय चर्चामा रहेको सुन प्रकरणमा आफ्ना नेताहरूको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरूलाई बचाउने प्रयास गरेको उनको आरोप छ ।
सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरूलाई उन्मुक्ति दिएर अनुसन्धानलाई मोड्ने काम गरेको टिप्पणी गर्दै उनले यसै कारण एमालेले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग अघि बढाएको बताए ।
स्व. नेता जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बिहीवार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा वर्तमान सरकारले देखाएको प्रवृत्तिमाथि टिप्पणी गरेका हुन् ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारले गरिरहेको छानबिनप्रति शंका व्यक्त गर्दै नेता ज्ञवालीले भने ‘सरकारको आफ्नै हात सफा छैन । यसले न अनुहारको कालो पुछ्न सक्छ, न ऐनाको कालो पुछ्न सक्छ ।’
यसैगरी मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको टिप्पणी गर्दै नेता ज्ञवालीले मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने उल्लेख गरे । ‘इतिहासमै पहिलोपटक राजश्व संकलन गरेर कर्मचारीलाई तलब पुर्याउनसमेत नसक्ने अवस्था सिर्जना भएको छ । निर्माण व्यवसायीहरूले काम पूरा गरेर पनि ८० अर्ब बढी भुक्तानी पाउन सकेका छैनन्’ नेता ज्ञवालीले भने, ‘प्रत्येक दिन आर्थिक संकटका कारण व्यवसायीले आत्महत्या गर्नुपरेको छ । तर सरकार र मन्त्रीहरू भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।’ प्रत्येक दिन व्यावसायिक प्रतिष्ठान तथा सटरहरू खाली हुँदै गएको उल्लेख गर्दै उनले सरकारले सीमित व्यापारीलाई मात्रै पोस्ने काम गरेको टिप्पणी दाबी गरे ।
करको दरमा स्वार्थअनुसार परिमार्जन गर्ने गरेका उदाहरणहरू प्रस्तुत गर्दै नेता ज्ञवालीले वर्तमान सरकारले सीमित व्यापारीलाई काखी च्यापेर अरूलाई पाखा लगाउने काम गरेको बताए ।