
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा 'दिपशिखा'ले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताएका छन् । २०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरूको बलमा पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने स्थिति बनाउने उनले दाबी गरे ।
काठमाडौंमा जारी केन्द्रीय समिति बैठकपछि बिहीवार पत्रकारहरूसँग कुरा गर्दै सापकोटाले माओवादी पार्टी जति विधानमा अरू कोही उदार नभएको भन्दै आगामी दिनमा पनि विधान मिच्नु नहुने बताए । ‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने । अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन । सिद्धियो झर्ने ठाउँ । अब उकालो लाग्ने । ०८४ सालमा पुग्दाखेरि अहिले सरकारले गरेका राम्रा कामहरूको बल, बुतामा पार्टी रुपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने । ०८४ मा पुग्दाखेरि पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने’ सापकोटाले भने, ‘जनताको हामीसँग विश्वास गुमेको छ । जनता रिसाएका छन् । रिसाएका जनताको मन खुशी बनाउने । ३ महिनाभित्र विधान सम्मेलन गर्ने । किनभने विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन । हामी जतिबेला पायो त्यतिबेला बदल्दिन्छौँ । परिवर्तन गर्छौं । थपिदिन्छौं । घटाइदिन्छौं । अब आइन्दा नगर्ने भन्ने छ ।’