
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको उनले दाबी गरे ।
आइतवार पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले सुशासनको अभियानले पार्टीलाई झन एकताबद्ध बनाएको बताएका हुन् । ‘हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले भ्रष्टाचारविरुद्ध नयाँ अभियान चलाइरहेको छ । १६ वर्षसम्म हामी अरु काममै अल्मलियौं । त्यो अलमलले नयाँ कुरा सिकायो’ प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पछिल्लो समय चालेको सुशासनका अभियानले पार्टीलाई एकताबद्ध बनायो । हामी भ्रष्टाचार विरुद्धको सवालमा अझै निर्मम बन्छौं ।’

सरकारले गरिरहेका राम्रो कामको प्रचार गर्न प्रचण्डले केन्द्रीय सदस्यहरूलाई आग्रह गरे । ‘सरकारले जे जति राम्रो काम गरेको छ, राम्रा कामको मार्केटिङ पुगेको छैन । तपाईंहरूले अभियान चलाउनुस्’ उनले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्याएरै छाड्ने उनले बताए । ‘मैले शुरूमा पनि भनिसकेको छु, भ्रष्टाचार विरोधी अभियान रोकिन्न, कसैको दबाबसामु हामी झुक्दैँनौं’ प्रचण्डले बैठकमा भनेका छन् ।
विभिन्न निर्णय गर्दै माओवादी बैठक आइतवार नै समापन गर्ने तयारी छ।