२४ जेठ २०८३, आइतबार

विपी राजमार्गको आकस्मिक सूचना प्रणाली आठ वर्षदेखि अलपत्र

साउन २१, २०८०
काठमाडौं
विपी राजमार्गको आकस्मिक सूचना प्रणाली आठ वर्षदेखि अलपत्र

सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको विपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (इआइएस) बोर्डमा आठ वर्षदेखि आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गत वर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । 

राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । राजमार्ग प्रवेशस्थल धुलिखेलस्थित बोर्डमा समेत मौसमअनुसारको सूचना अद्यावधिक गर्न नसकेको विभागका इन्जिनियर कर्णसिं खत्रीले बताए । उनका अनुसार केही बोर्डमा मात्रै केही महिनादेखि सामान्य सूचनाबाहेक सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे ‘डिस्प्ले’ गर्न नसकिएको हो । 
    
“इआइएस मर्मत र सञ्चालन निकै चुनौतीपूर्ण छ, जनशक्ति र आवश्यक बजेट नहुँदा सञ्चालन गर्न सकिएको छैन”, खत्रीले भने । उनका अनुसार सडक खण्डखण्डमा सूचना दिन विभागसँग त्यससम्बन्धी जनशक्ति नै छैन । इआइएस व्यवस्थित गरिएको सात वर्षपछि गत वर्ष सञ्चालनमा चासो राखेको विभागले उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई अझै पनि निरन्तरता दिन नसकेको जनाएको हो । हाल धुलिखेल र खुर्कोटको डिजिटल बोर्डमा ‘सवारी चलाउँदा सचेत रहनुस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता सामान्य सूचनाबाहेक डिस्प्ले भएका छैनन् । 

उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गत वर्ष जाइका एक्सपोर्ट्स टिमलाई अध्ययन स्वीकृत दिएको थियो । उसको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत गरी सञ्चालन गर्न नसकिएको खत्रीले बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्