
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामालाई नियुक्त गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि व्यक्त हुन थालेको छ ।
माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी बैठकको निर्णय स्मरण गराउँदै ल्हारक्यालको नियुक्तिप्रति कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो तर बैठक सकिएकै दिन लुम्बिनीबाट शुरू भइसकेछ !’ ल्हारक्यालको नियुक्तिलाई पार्टीको रूपान्तरण अभियानसँग तुलना गरेर नेता न्यौपानेले कटाक्ष गरेका हुन् ।
मन्त्रिपरिषदको बैठकले लामालाई ५ वर्षे कार्यकालका लागि विकास कोषको उपाध्यक्ष नियुक्त गरेको निर्णय आइतवार सार्वजनिक भएको थियो ।
बुद्धिजम विषयमा स्नातकोत्तर लामा संविधानसभा सदस्य पनि थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट उनी माओवादी नेता समेत हुन् । लुम्बिनी विश्वका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र हो ।