
पद पाउन राजनीतिक दल र तिनका नेताहरूले हानथाप गर्छन् । एउटै नेता पटक–पटक लाभका पदमा पुगेको उदाहरण प्रशस्त छन् । तर, कोशी प्रदेशमा भने सभामुख पद दलहरूलाई घाँडो भएको छ । सत्ता र प्रतिपक्षी दुवैले सभामुख पद लिन आनाकानी गरिरहेका छन् । सभामुख पद यति सस्तो बनेको छ की किस्तीमा राख्दासमेत कसैले टिप्ने आट गरेका छैनन् । अघिपछि पदका लागि मरिहत्ते गर्ने नेताहरू सभामुख पद अरुलाई दिन तयार छन् तर, आफू लिन तयार छैनन् ।
‘अहिले कोही पनि सभामुख पद लिन तयार छैनन्,’ सत्ता गठबन्धनकै एक सांसदले भने ‘किस्तीमा राखेर सभामुख पद लिनुहोस् भन्दा पनि कोही तयार देखिएका छैनन् ।’
यसअघि सभामुख रहेका नेकपा माओवादी केन्द्रका बाबुराम गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउन राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि कोशीमा सभामुख पद रिक्त छ । गौतम समेतको समर्थनमा थापा साउन १६ गते मुख्यमन्त्री बनेका थिए । राजीनामापछि संसद् सचिवालयबाट रुँदै निस्केका गौतम त्यसको भोलिपल्ट आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।
उपसभामुख सिर्जना दनुवारले निमित्त सभामुखको जिम्मेवारी समालेकी छिन् । गौतमको राजीनामापछि सभामुख चयनको प्रक्रिया थालिएको छैन । संसद् सचिवालयले मुख्यमन्त्री थापाले विश्वासको मत नलिएसम्म सभामुख चयनको प्रक्रिया शुरू गर्ने सम्भावना छैन ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सभामुख लिने/नलिने भन्ने विषयमा छलफल गर्ने एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । सरकारले विश्वासको मत नलिएसम्म सभामुखको विषयमा छलफल नै नगर्ने उनको भनाइ छ । ‘अहिले हामीलाई सभामुख आवश्यक छैन,’ उनले भने ‘ सरकारले प्रतिस्थापन विधेयक ल्याउने हो की अध्यादेशबाट बजेट ल्याउने हो त्यो पनि हेर्न बाँकी छ ।’
संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुखको चयन प्रक्रियाबारे उल्लेख छ । सोही धाराको उपधारा (१) मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ ।
उपधारा (३) मा प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद रिक्त भएमा प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद पूर्ति गर्ने उल्लेख छ ।
सत्ता गठबन्धन भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिन तयार देखिएको छ । तर, राप्रपाले भने सरकार टिकाउन सभामुख नलिने बताउँदै आएको छ । सत्ता गठबन्धनले राप्रपालाई ‘कान्छो भाइ’जस्तो व्यवहार गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । ‘हामी सत्ता गठबन्धनसँग छैनौं,’ उनले भने ‘ राप्रपा हाम्रो कान्छो भाइ हो ? हामीले भनेको मानिहाल्छ भन्ने बुझाइ गठबन्धनका नेताको छ । अहिले नै सभामुख लिनुपर्छ भन्ने मनस्थिति पनि हामीले बनाएका छैनौं।’
यसअघि सभामुखको हस्ताक्षर प्रयोगगरी सरकार गठन गरेको कारण २२ दिनमै थापा नेतृत्वको सरकार ढलेको थियो । तत्कालीन सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेपछि सर्वोच्चले असंवैधानिक ठहर गरेको थियो । सर्वाेच्चको फैसलापछि गौतमलाई सभामुख पदबाट राजीनामा दिन लगाएर थापा पुनः मुख्यमन्त्री बनेका छन् । अहिले पुनः गठबन्धनबाटै सभामुख बने उनले विश्वासको मत नपाउने सम्भावना छ । त्यस कारण उनीहरू सभामुख पद लिन तयार छैनन् ।
विश्वासको मत लिन सकस
मुख्यमन्त्री थापालाई विश्वासको मत लिन नै संकटमा पर्ने देखिएको छ । सभामुख नहुँदा सभा कसले चलाउने भन्ने विषयले अन्यौलता सिर्जना भएको छ ।
उपसभामुख दनुवारलाई एमालेले बिरामी बिदामा बसाउने तयारी गरेको छ । उनी बिदा हुँदा संसद् चलाउनु पर्छ भन्ने नरहेको एमालेका प्रमुख सचेतक भण्डारीले बताए ।
उपसभामुख बिरामी बिदामा बसे सत्ता गठबन्धनकै ज्येष्ठ सदस्य गयानन्द मण्डलले सभा चलाउनु पर्ने हुन्छ । उनलाई मन्त्री बनाउने तयारीमा कांग्रेस छ ।
एमाले र राप्रपाले भने ज्येष्ठ सदस्यलाई विश्वासको मत लिने दिन अनुपस्थित गराएको खण्डमा भने एक महिना मै सरकार ढल्न सक्ने अनुमान गरिएको छ ।
कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।