०६ असार २०८३, शनिबार

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

साउन २२, २०८०
काठमाडौं
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउने सोमवारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् । 

साउनको सोमवार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । 

 पशुपतिनाथ मन्दिरमा रातो र हरियो पहिरनमा सजिएका सोमवारका बर्तालु महिला भक्तजनको बढी भीडभाड देखिन्छ । सोमबारकै अवसरमा सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको लाम पनि लामो रहेको उनले जानकारी दिए । बोल बम यात्रीका लागि एउटै ढोकाबाट जल चढाएर फर्कने व्यवस्था गरिएको छ । 

 बोल बम यात्री सुन्दरीजलमा शुद्ध जल लिन आइतवार बेलुकी नै वाग्मतीको मुहानस्थल पुगेका थिए । बिहान सबेरै स्नान गरी शुद्ध जल लिएर आएका भक्तजनले अहिले जल अर्पण गरिरहेका छन् । 

आज बेलुकी भक्तजनको लाम रहेसम्म चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिने कोषले जनाएको छ । यस वर्ष साउन महिनामा अधिकमास परेकाले व्रत बस्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर रहेको छ । प्रत्येक वर्ष साउन महिनाको सोमबार नियमित रुपमा गरिने कर्म भएकाले यो व्रत गर्ने विश्वासमा धेरै भक्तजनको शिवालयमा लाम लागेको हो ।

यस वर्ष साउन महिनामा पाँच सोमवार परेको छ । साउनको सोमवार व्रत गर्नेले अन्तिम सोमवार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ । 
 
साउन महिना र सोमवार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ । यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । देशभरका ठूला, साना शिवालयमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्