०१ असार २०८३, सोमबार

मौज्दात कम हुँदा जुम्लामा चामल अभाव

साउन २२, २०८०
जुम्ला
मौज्दात कम हुँदा जुम्लामा चामल अभाव
प्रतिकात्मक तस्वीर

जुम्ला सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ ।

डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो ।

चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा डिपो कार्यालयका लागि प्राप्त ८ हजार १४७ क्विन्टल चामलको कोटा रहेको थियो । अहिले डिपोमा ९५९ क्विन्टल मात्रै मौज्दात रहेको छ ।

मौज्दात रहेको चामलमध्ये अति आवश्यकका लागि बाहेक अरूलाई वितरण गर्न नसकिने कार्यालय प्रमुख विष्टको भनाइ छ ।

कारागारका लागि २८० क्विन्टल र जन्म र मृत्युका लागि १८० क्विन्टल चामल छुट्याइएको छ । थप आवश्यक २ हजार क्विन्टल चामल माग गरिएको छ । मौज्दात भएको चामल कारागार, विपत् र जन्म, मृत्युका लागि मात्रै वितरण गरिने कार्यालय प्रमुख विष्टले बताए ।

खाद्यान्न मौज्दात परिणाम न्यून भई साउन मसान्तमा ढुवानी हुने गरी न्यूनतम २ हजार क्विन्टल खाद्यान्न आपूर्ति गर्नका लागि प्रादेशिक कार्यालयमार्फत केन्द्रीय कार्यालयलाई परिपत्र गरिएको छ । सरकारले जन्म र मृत्युमा प्रतिव्यक्ति २० केजी चामल दिने व्यवस्था गरेअनुसार जन्ममा ७८५ र मृत्युमा ५९ जनालाई चामल वितरण गरिएको छ ।

चामल लिन आउने व्यक्तिलाई नियमानुसार ४ लाख २३ हजार ज्याला रकम प्रदान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले जनाएको छ । जुम्ला मुख्य कार्यालयबाट डोल्पाको काइगाउँ डिपोका लागि १७७ क्विन्टल र डोल्पाको सर्मीका लागि ७५० क्विन्टल चामल पठाएको कार्यालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्