चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक र नेपाली सेनाको टोलीले डार्ट गरेर बाघलाई सोमबार अपराह्न ४ः३० बजे खैरहनी १२ सहनपुरस्थित केरा घारीबाट नियन्त्रणमा लिएको हो ।
आइतबार सो बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ मृत्यु भएको थियो । बाघ केराघारीमा पसेको थाहा पाएपछि निकुञ्जको टोलीले आइतबार बिहानैदेखि बाघको खोजी गरिरहेको थियो । बाघ बस्तीमा पसेपछि आइतबार दिनभर गाउँमा त्रास फैलिएको थियो । मृतक तामाङको शव आइतबार साँझ केराघारीबाट निकालेर परिवारको जिम्मा लगाइएको छ । बाघको खोजीका लागि प्राविधिकसहित आइतबार १५ वटा र सोमबार १२ वटा हात्ती परिचालन गरिएको थियो ।