
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय वीरगन्जका मालपोत अधिकृत हरिनारायण मिश्रसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधवार अधिकृत मिश्रसहित सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, रामेश्वरप्रसाद साह, कमोद तिवारी र लेखनाथ भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो ।
मालपोत कार्यालयको रजिष्ट्रेसन फाँट (क) र (ग) बाट रजिष्ट्रेसन पास गर्दा घरबाटो सिफारिसविना न्यूनतम मूल्याङ्कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी व्यक्तिगत लाभ लिएर लिखत पारित गरेको आयोगमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा मालपोत अधिकृतत्रय मिश्र, द्वीवेदी र भण्डारीका साथै कम्प्युटर अधिकृत तिवारी, नासु साह र नासु भट्टराईले फाँट (क) बाट १७ वटा र फाँट (ग) बाट २ वटा लिखतहरू पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा बदनियतपूर्वक ४ लाख २५ हजार ५३१ रुपैयाँ राजस्व चुहावट भएको पाइएको आयोगको दाबी छ ।
आयोगले साहलाई ३ लाख ८७ हजार, तिवारीलाई ११ हजार ७४७, भण्डारीलाई २ लाख ३९ हजार ४०४, भट्टराईलाई ३८ हजार ५२८, मिश्रलाई ६० हजार ७१९ र द्वीवेदी ब्रह्मणलाई १ लाख १३ हजार ७७८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
आयोगले उनीहरू विरुद्ध कैद र बिगोको दोब्बर हुने रकम २ लाख २७ हजार ५५६ रुपैयाँ जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए ।