
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आगामी निर्वाचनमा देशबाहिरका नेपाली निर्णायक हुने बताएका छन् ।
पुनले प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्न सक्ने अवस्था आएको बताए ।
पार्टीहरूले यसअघि नागरिकका घर-घरमा पुगेर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उनको भनाइ थियो । ‘आजको युग प्रविधिको युग हो । पहिला जसरी मानिसका घर-घरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ’, बुधवार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा पुनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनहरूमा देशभित्रका भन्दा विभिन्न शिलशिलामा देशबाहिर रहेका नेपालीहरू निर्णायक हुनेजस्तो देखिएको छ ।’
उनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गरे । पुनले पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए । पुनले हरेक घरमा डिजिटल बहस हुने गरेको भन्दै एकै घरमा पनि फरक-फरक विचारका मानिसहरू हुन थालेको स्मरण गरे ।
‘पहिला–पहिला मुखिया र जिम्मलहरूको धारणा नै आम मानिसको धारणा हुने जस्तो थियो । पछि राजनीतिक दलहरूका धारणामा मानिसहरू विभाजित थिए’, उनले भने, ‘अहिले त एउटा घरमा चार जना छ र फरक–फरक पेशामा छ भने चारैथरी विचारको छ, चारैवटा स्वार्थको प्रतिनिधित्व गरेको छ । प्रविधिले गर्दा समाजको चरित्रमा यस्तो खालको बदलाव आएको छ ।’ प्रविधिको उपयोग गर्न नजान्ने र नसक्नेहरुले राजनीतिमा टिक्न नसक्ने भन्दै पुनले पार्टीलाई प्रविधिमैत्री बनाउन आफू सक्रिय रहेको बताए ।
नेपाल प्रविधिको व्यापारका लागि उपयुक्त थलो भएको भन्दै उनले आगामी ५ वर्षभित्र वार्षिक ५ खर्ब रुपैयाँ प्रविधिको उत्पादन निर्यातबाट आम्दानी हुने प्रक्षेपण हालै मात्र सार्वजनिक भएको बताए ।
यद्यपि प्रविधिले नै उत्पादन गरेको कृत्रिम बौद्धिकता भने मानिसका लागि चुनौतीका रुपमा आएको तर्क पुनले गरे ।
फरक प्रसंगमा पुनले सय केजी सुन प्रकरणमा पार्टीका कोही पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने दोहोर्याए । ‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए ऊ जान्छ’, पुनले भने, ‘तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।’
पुनले सुनमा तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी रहेको औंल्याए ।
पुनलाई केही दिनअघि सकिएको केन्द्रीय समिति बैठकले उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी दिएको छ । यसअघिका इन्चार्ज लीलामणि पोखरेलको बिदाइ पनि कार्यक्रममा गरियो । पोखरेल मधेश प्रदेशको इन्चार्जमा सरुवा भएका छन् । कार्यक्रममा पोखरेलले पुनजस्तो सक्रिय र राजनीतिक कुशलता भएको नेता पाएको भन्दै विशेष प्रदेश समितिलाई बधाई दिएका थिए ।