१४ असार २०८३, आइतबार

राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका रहँदै आएको छ : प्रधानमन्त्री प्रचण्ड

साउन २४, २०८०
काठमाडौं
राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका रहँदै आएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।

उनान्तिसौं आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पनाअनुरूप समाजवादको आधार तयार पार्नसमेत यस दिवसले महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

उनले आदिवासी दिवसले प्राप्त अधिकारको संरक्षण र सुदृढीकरण गर्दै थप अधिकार प्राप्तिको आन्दोलनलाई व्यवस्थित तुल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘आदिवासी जनजाति समुदायको पहलमा कानून बनाउने, स्रोतसाधन एवं जनशक्तिले आयोग शक्तिशाली बनाउने, संविधानले व्यवस्था गरेको आदिवासी जनजातिको अधिकारलाई कार्यान्वयन गर्दै लगिने छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्वायत्त, संरक्षित र विशेष क्षेत्रलाई कानून बनाएर छिट्टै लागू गराउने र संघीयताको दृढ कार्यान्वयनका साथै थप अधिकारका निम्ति प्रयत्नशील रहने कार्यभार हाम्रासामु छन् । हामी सबैको सामूहिक प्रयास र संघर्षले उल्लिखित कार्यभार पूरा गर्न महत्त्वपूर्ण योगदान हुनेछ भन्ने मेरो गहिरो विश्वास छ ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं पहिचान र अधिकारको आन्दोलनमा निरन्तर सफलताका निम्ति यस्ता अवसरले उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गरे । नेपालमा करीब १ करोड २० लाख आदिवासी/जनजाति रहेको तथ्यांक पेश गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म ६० आदिवासी/जनजाति समुदाय सूचीकृत भएको र तिनीहरूको आ–आफ्ना भाषा–संस्कृति रहेको जानकारी दिए ।

नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवं समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका रहँदै आएको तथ्य पेश गर्दै प्रधानमन्त्री प्रचण्डले यो यथार्थलाई हामी सबैले ठीक ढंगले आत्मसात् गर्न जरुरी रहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्