मिर्चैया (सिराहा), ३० भदौ — माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी क्षेत्रमा पर्ने मिर्चैया नगरपालिकामा निर्वाचनको माहौल तातेको छ ।

पार्टी अध्यक्षको चुनावी क्षेत्र भएकोले मिर्चैया नगरको मेयर आफ्नो पक्षमा पार्न माओवादीले प्रतिष्ठाको बिषय बनाएको छ ।
माओवादी केन्द्रबाट मेयरका लागि श्रवण कुमार यादव र उपमेयरमा जीवछी देवी साहलाई विजयी गराउन शुक्रवार राती अबेरसम्म माओवादी कार्यकर्ता घरदैलो र प्रचार प्रसारको काममा व्यस्त थिए । शुक्रवार साँझ मिर्चैयामा मोटरसाइकल र्याली निकालिएको थियो ।

मिर्चैया नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा सीताराम यादव, एमालेबाट प्रदीप महासेठ, राजपा नेपालबाट रामकुमार यादव, संघीय समाजवादी फोरमबाट जमुना यादव र बहुजन शक्ति पार्टीबाट रामप्रताप साह –भोला) प्रत्यासी छन् । लामो समय राप्रपाको राजनीति गरेका भोलापनि मिर्चैया नगरको मेयरका बलिया उम्मेदवार ठानिएका छन् ।
माओवादी, कांग्रेस, एमाले, फोरम र बहुजन शक्ति पार्टी सबैले मेयरमा जित्ने दाबी गरेका छन् । माओवादी फोरमसँग आफ्नो मुख्य प्रतिष्पर्धा रहेको बताउँछ भने एमालेले माओवादीसंग प्रतिष्पर्धा रहेको बताउँछ ।
माओवादीका तर्फबाट मेयरका उम्मेदवार यादवले पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि मिर्चैयामा विकासको लहर आएकोले माओवादीले चुनाव जित्ने दाबी गर्छन् ।

‘प्रचण्ड प्रधानमन्त्री बनेपछि खानेपानीको व्यवस्थापनका लागि मटिहरवा र फुलबरीयामा पानीको ट्याङ्की स्थापना गराइदिएका छन्, घुर्मी खोलादेखी जिवा खोलासम्म ढल निकासको व्यवस्थापन गरेका छन्’ श्रवणले अगाडि भने, ‘प्रचण्डले चुनाव जितेपछि थाना चोकदेखि मिर्चैया बजारको हटियासम्म राम्रो सडकको व्यबस्था भएको छ, यी नै चुनाव जित्ने आधार हुन् ।’
विपक्षीलाइ मसलाः प्रचण्डले चुनाव क्षेत्र छाडे !मिर्चैया लगायत सिराहाका स्थानीय तहमा चुनाव जित्नको लागि प्रचण्ड निर्वाचन क्षेत्रमा पुगेर सभाको आयोजना गरेका थिए । तर माओवादीका प्रतिष्पर्धी दलहरुले भने प्रचण्ड स्वयम् सिराहाबाट चुनाव नजित्ने देखेर निर्वाचन क्षेत्र सार्न लागेको आरोप लगाइरहेका छन् ।

‘प्रचण्ड आफैलाई यहाँबाट चुनाव जित्ने विश्वास नभएर चितवनबाट चुनाव लड्ने बताइसकेका छन्’ बहुजन शक्ति पार्टीका वडा नम्वर ११ का वडाअध्यक्षका उम्मेदवार रमन कुमार झाले भने ।
माओवादीमा उम्मेदवारको विवादमाओवादी केन्द्रले मिर्चैया नगरको मेयरमा शुरुमा दीलिप साहको नाम प्रस्ताव गरेको थियो । तर पार्टीले अन्तिममा श्रवणलाई मेयरको टिकट दिएपछि दीलिप असन्तुष्ट बनेका कारण पार्टीका कार्यकर्ता विभाजित भएका थिए । मेयरका उम्मेदवार श्रवण भने पार्टीको विबाद सकिएको र दिलीप पनि आफूसँगै चुनाव प्रचारमा हिडेको स्पष्ट पारे।
‘पार्टीमा शुरुमा विवाद थियो, दीलिप असन्तुष्ट पनि थिए, तर प्रचण्ड आफैं आएर विवाद समाधान गरेपछि माओवादी एकढिक्का भएर चुनावी प्रचारमा लागेको छ’ श्रवणले शुक्रवार लोकान्तरसँग भने ।
माओवादीका लागि विश्वेन्द्रको पार्टी तगारो !डा प्रकाशचन्द्र लोहनी नेतृत्वको पार्टी एकीकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय तहका नेता भोला चुनाव लड्नकै लागि विश्वेन्द्र पासवानको पार्टीमा प्रवेश गरेका हुन् ।
उनले चारवटा नारा लिएर चुनावी अभियानलाई तीब्रता दिएका छन् । ‘सुशासन, विकास, शिक्षा र स्वास्थ्य मेरा चुनावी एजेण्डा हुन् । तर मुख्य प्राथमिकता भने यहाँका सुकुम्बासीहरुलाई लालपुर्जा दिलाउनु हो । मसंग त्यो भिजन छ’ भोलाले लोकान्तरसँग भने ।
‘धाँधलीरहित नगरपालिका बनाउने, कसैलाई कुनै किसिमको भेदभाव नगर्ने, नगरपालिकाबाट सहज रुपमा सेवाग्राहीलाई सेवा प्रदान गराउने मेरो लक्ष्य छ ।’
नेतासँग एमाले कार्यकर्ताको यस्तो गुनासोमिर्चैया ५ का ४६ वर्षीय रामचन्द्र महतो नेकपा एमालेका पुराना कार्यकर्ता हुन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए । ‘अहिले हामीलाई बाटोमा हिँड्न गाह्रो भएको छ, मतदाताहरु भन्छन्, हामीले तपाईँका उम्मेदवारलाई मधेसी भनेरै भोट दियौ, तर तपाइका केन्द्रीय नेताहरुले मधेसको समस्या समाधान गरेनन्’ महतो भन्छन् ‘अहिले पनि मतदाताहरु एमालेलाई नै भोट दिन्छन, किनभने हामीसँग संगठन र प्रतिबद्ध कार्यकर्ता छन्, तर मतदातको प्रश्नले हामीलाई बाटोमा हिडन् समेत कठिन परेको छ ।’ उनले मिर्चैयामा एमाले उम्मेदवार प्रदीप महासेठले नै जित्ने दाबी गरे ।
संघीय समाजवादी फोरम नेपालका स्थानीय कार्यकर्ता श्याम साह भने मिर्चैया नगरपालिकामा फोरमले चुनाव जित्ने दाबी गर्छन् । ‘एमाले, कांग्रेसको भन्दा फोरमको उम्मेदवार लोकप्रिय छन,् प्रतिष्पर्धा माओवादीसँग हुन्छ’ उनले भने ।