
ग्लोबल आईएमई बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टि गर्ने स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेसहितको सेवा ल्याएको हो ।
यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टि एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भ्वाइस म्यासेज प्रदान गर्नेछ ।
यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने बैंकको विश्वास छ । यसबाट मर्चेन्ट/व्यापारी तथा ग्राहकहरूलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुनेछ ।
साथै, यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टिमा निर्भरता समेत घटाउँछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।