०२ असार २०८३, मंगलबार

युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन, देशभरका २२० जनाले सहभागिता जनाउने

साउन २५, २०८०
काठमाडौं
युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन, देशभरका २२० जनाले सहभागिता जनाउने

नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा काठमाडौँमा ३ दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । संयुक्त राष्ट्र संघले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा तय गरेको 'युवाका लागि हरित दक्षता  : दिगो भविष्यतर्फको यात्रा' नाराका साथ परिषद्ले सम्मेलन गर्न लागेको हो ।  

काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल कलेजको सभा हलमा साउन २५ गतेदेखि २७ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने युवा परिषद्‍ले जनाएको छ । सम्मेलनको समापन भने उपसभामुख इन्दिरा राणा मगरले गर्ने छिन् । 

सम्मेलनमा उच्च पदस्थ राजनीतिज्ञ, युवा संसद्, उद्यमी, युवा अभियन्ता लगायतले विभिन्न विषयवस्तुमा युवाको भूमिका र सरोकारमा आधारित सम्बोधन गर्ने कार्यक्रम छ । 

सम्मेलनमा मुख्यगरी युवाको लागि दिगो विकास लक्ष्यहरू, जलवायु परिवर्तनको लागि पहल , लैंगिक समानता, युवा उद्यमशीलता, निर्वाचनना युवा र  सुशासन गरी ६  वटा प्रमुख पक्षमा विषयविज्ञहरूको प्रस्तुति तथा सहभागीहरूद्वारा अन्तरक्रिया र गहन छलफल गरिने  परिषद्ले जनाएको छ । 

सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट १ जना पुरुष र १ जना महिला गरी १५४ जना र विशिष्ट लैङ्गिक अभिमुखिकरण तथा विशिष्ट क्षमता भएका ६६ जना युवाहरू गरी जम्मा २२० जनाले सहभागिता जनाउने छन् ।

परिषद्ले सन् २०१५ देखि निरन्तर अविचलित देशभरका सक्रिय, होनहार  तथा सचेष्ट युवाहरूलाई काठमाडौंमा ल्याएर युवाको सम्बन्धमा विभिन्न उपलब्धिमूलक  कार्यक्रमहरू गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्