२५ असार २०८३, बिहीबार

लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाद्वारा पदभार ग्रहण, इज्जत जाने कुनै काम नगर्ने प्रतिबद्धता

साउन २५, २०८०
बुटवल
लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाद्वारा पदभार ग्रहण, इज्जत जाने कुनै काम नगर्ने प्रतिबद्धता

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले विहीवार पदभार ग्रहण गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गरी औपचारिक रुपमा कार्यभार समालेका हुन् । 

उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईलगायतले खादा स्वागत गरेका थिए । 

पदभारसँगै उपाध्यक्ष लामाले लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इँटाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन् । 

पदभार ग्रहण अघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले लुम्बिनीको गरिमालाई उच्च राख्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनीजस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए ।

null

उनले आफू लामो समयदेखि बुद्धमार्गमा हिड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए । बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरी काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरूसँग हातेमालो गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने बताए । ‘मान्छे हो, कहिलेकाँही बुझाईमा समस्या हुनसक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’ उनले भने । 

उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरू प्रयोग गर्ने बताए । लुम्बिनीलाई पवित्र स्थलका रुपमा परिचित बनाउने गरी काम गर्नका लागि पदाधिकारी, कर्मचारी, स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने उनको प्रतिबद्धता थियो ।

स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बौद्धदर्शमा विद्यावारिधि गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भाषण भन्दा लुम्बिनीका बाँकी गुरु योजना, लुम्बिनीलाई विश्वका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न काम गरेर नतिजा दिनुपर्ने बताए । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारक्याल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताए । 

कोषका सदस्य सचिव शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरू नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिए । नवनियुक्त लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारीसहित बोर्ड सदस्य, परिषद् सदस्य, कर्मचारी र केही स्थानीयहरूको समेत उपस्थिति रहेको थियो ।

यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि सरकारले साउन १६ गते डा. लामालाई उपाध्यक्षमा नियुक्त गरेको हो । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्