
गायक अर्जुन सापकोटाको पछिल्लो तीज गीत युट्युब ट्रेन्डिङमा परेको छ । सविता परियारसँग उनले गाएको ‘गाजले’ बोलको गीतले राम्रो भ्युज पाउँदै ट्रेन्डिङको यात्रा तय गरेको हो ।
बिहीवार बेलुकासम्म १ लाख ३२ हजार प्लस भ्युज पाएको गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङमा छ । प्रल्हाद सुवेदीको शब्द, अर्जुनकै संगीत रहेको गीतलाई एचबिएन किस्मतले एरेन्ज गरेका हुन् ।
दुई दिनअघि सार्वजनिक यो गीतको भिडियोमा पनि अर्जुनले अभिनय एवं नृत्य गरेका छन् ।
साथमा, करिष्मा ढकाल, शरद एलजी, सितल कोइराला लगायतको नृत्य हेर्न सकिन्छ । भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।
गीतका गायक एवं मोडल अर्जुनले यसपटक झन्डै एक दर्जन तीज गीतमा काम गरेका छन् । जसमध्ये ‘गाजले’लाई उनले आफ्नै अफिसियल युट्युबबाट सार्वजनिक गरेका हुन् ।
गीतको प्रस्तुतकर्ता भने सविता परियार हुन् ।
नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा दीपक विष्टको सम्पादन छ ।