![सांसद सुनिल शर्मा पक्राउबारे संसद् सचिवालयमा पुगेको पत्रमा के छ ? [पत्रसहित]](https://lktcdn2.prixacdn.net/media/sunil_sharma__KMC_3PBsYObzJZ.jpg)
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउको जानकारी गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संसद् सचिवालयमा पठाएको पत्रमा शैक्षिक प्रमाणपत्र अपुष्टित (नन भेरिफाइ) रहेको आरोप उल्लेख गरिएको छ ।
सीआईबीले कतिपय चिकित्सकहरूले नक्कली प्रमाणपत्रहरू पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकोले छानबिनका सिलसिलामा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको २०७९/०४/०५ गतेको पत्रबाट सुनिलकुमार शर्माको कैफियतमा अपुष्टित लेखी आएकोले पक्राउ गरिएको जनाइएको छ । उनीमाथि फौजदारी कसूरको अनुसन्धान भइरहेको पत्रमा उल्लेख छ ।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित पत्र सभामुखलाई प्रेषित गरिएको छ ।
सीआईबीका एसपी नवराज अधिकारी सांसद शर्मा पक्राउको जानकारी दिन बिहीवार साँझ संसद् सचिवालय पुगेका थिए । शर्मा बिहीवार आफ्नै निवास गोल्फुटारबाट पक्राउ परेका हुन् ।
नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा सांसद पक्राउबारे सभामुखलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । ‘संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ,’ संविधानको उपधारामा लेखिएको छ ।
यस्तो छ पत्र –
