
वैदिक ऋषिमुनिहरूको पंक्तिमा अदिति बिर्सनै नसकिने नाम हो । वैदिक संहिताहरूमा उनी र उनका देन तथा विशेषताबारे प्रशस्तै चर्चा भएका छन् । तर उनी आफैं वैदिक मन्त्रद्रष्टा ऋषि भने होइनन् । उनका आफ्ना छुट्टै कुनै त्यस्तो वैदिक सूक्त वा मन्त्र फेला परेका छैनन् । तथापि कल्याण वेद–कथाङ्क (गीताप्रेस गोरखपुर) मा उल्लेख भएअनुसार वैदिक मन्त्रमा उल्लेख भएका कतिपय देवता वा विशिष्ट शक्ति विशेषलाई पनि ऋषि नै भन्ने गरिएको पाइन्छ । यसअनुसार भन्नुपर्दा भने वैदिक ऋषिमुनिहरूको समूहमा उनको स्थान अतीव समुन्नत देखिन्छ ।
विशेषगरी ऋग्वेद चतुर्थ मण्डलको १८ औं सूक्त र दशौं मण्डलको १५३ औं सूक्त उनै अदितिसित सम्बन्धित सूक्त हो । देवराज इन्द्र र अदिति आफ्नै विशेषता वर्णन भएका यी सूक्तमा कुल १८ वटा मन्त्र छन् । यी मन्त्रहरूमा उनको सिङ्गो सृष्टिप्रक्रिया र सञ्चालनमा जुन किसिमको शक्ति, सामर्थ्य र योगदानको व्याख्यान भएका छन् तत्सम्बन्धमा इतिहास पुराणादि समग्र वैदिक ग्रन्थ त्यसैको सेरोफेरोमा केन्द्रित रहेको पाइन्छ ।
वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार अदिति संसारकै आदिशक्ति, मूल प्रकृति, समग्र देवीदेवताका अधिष्ठान, विश्वब्रह्माण्डको मूलाधार आदि अनेक विशेषणले युक्त मानिएकी छन् । उनी सर्वशक्तिशाली र सर्वहितैषी मात्र मानिएकी छैनन् सर्वग्राही र समुन्नत विशेषताले सुुसज्जित मानिएकी छन् । वैदिक संहिताहरूमा देवकन्या तथा देवमाता भन्ने गरिएका ऊषा, इन्द्राणी, इला, भारती, सिनीवाली आदि केही अन्य विशिष्ट शक्तिका समेत उपस्थिति देखिएका छन् । तर सर्वाधिक अगाडि भने यिनै अदिति नै रहेकी पाइन्छन् । वास्तवमा उनी संसारकै अद्वितीय शक्ति हुन् । संसारको अद्वितीय शक्ति भएकैले अदिति हुन पुगेकी हुन् ।
ऋग्वेद ४ । १८ । ८ मा यिनलाई जसरी देवराज इन्द्रको माताको रूपमा प्रस्तुत गरिएको छ अथवा भनौं उनले कसरी इन्द्रलाई जन्म दिइन् भन्ने कुराको व्याख्यान भएको छ, त्यो साँच्चै मार्मिक मात्र छैन मननीय समेत देखिएको छ । यसबाहेक यसै सूक्तका अन्य मन्त्रहरूमा कतै उनले देवराज इन्द्रलाई किन जन्म दिइन् र कसरी हुर्काइन् भन्ने कुराको सम्यक् विवेचन भेटिन्छ भने कतै देवराज इन्द्रले नै जन्मनासाथ के कस्तो पराक्रम देखाए भन्ने कुराको सम्यक् दिग्दर्शन भएको पाइन्छ । अझ यजुर्वेद २५ । २३ मा उल्लेख भएअनुसार भन्ने हो भने त उनी देवराज इन्द्रको मात्र होइन, आकाश र अन्तरिक्षलगायत द्यावाभूमि र तिनमा विचरण गर्ने देवीदेवता लगायत पञ्चजना एवं समग्र प्राणी समुदायका समेत जन्मदात्री मानिएकी छन् । (अदितिद्र्यौरदितिरन्तरिक्षमदितिर्माता स पिता स पुत्रः । विश्वे देवा अदितिः पञ्च जना अदितिर्जातमदितिर्जनित्वम् । ऋग्वेद २५ । २३)
पौराणिक ग्रन्थहरूले पनि उनलाई देवमाता नै मानेका छन् । भागवतमा व्यासजीले यसको सुन्दर विवेचन गरेका छन् । उनका अनुसार अदितिका बुवा दक्षप्रजापति हुन् भने आमाको नाम असिक्नी हो । दक्षप्रजापतिकी ६० वटी छोरीहरूमध्ये उनी माइली हुन् । कश्यपप्रजापतिले उनी र उनका १२ वटी अन्य दिदीबहिनीलाई एकैसाथ विवाह गरेका थिए । यीमध्ये अन्य दिदी बहिनीहरूबाट दानव, असुर यक्ष, गन्धर्व किन्नर आदि विभिन्न किसिमका प्राणीहरू उत्पन्न भएका थिए भने उनीबाट इन्द्रादि देवताहरू उत्पन्न भएका थिए । हामी हाल सूर्य भनेर जसको सम्मानपूर्वक नाम लिरहेका छौं सारा चराचर जगतलाई परिचालित र अनुप्राणित गर्दै आएका तिनै सूर्य समेत उनकै पुत्र मानिएका छन् । उनले सूर्यलार्ई पहिले आगोको डल्लोको वा पोकोको रूपमा प्रकट गरेकी थिइन् । पछि त्यही पोको फुटेर सूर्यको रूपमा अनन्तमा विस्तारित हुन पुगेका हुन् । उनलाई आदित्य पनि भनिन्छ । व्याकरणशास्त्रीहरूका अनुसार अदितिको कोखबाट जन्मेकाले आदित्य भनिएको हो ।
त्यतिमात्र होइन, देवमाता अदिति षडैश्वर्यसम्पन्न स्वयं विष्णु भगवानकी समेत माता मानिएकी छन् । भागवतमा व्यासजीले यसको समेत सुन्दर झाँकी प्रस्तुत गरेका छन् । उनका अनुसार वर्तमान मन्वन्तरको कुनै समयमा स्वर्गको राजा इन्द्रको समेत सत्ता दानवराज बलिको हातमा आइपुगेको थियो । त्यतिबेला यिनै माता अदितिको आग्रहमा भगवान् विष्णुले उनकै गर्भबाट वामन अवतार लिएर इन्द्रलाई उनको सत्ता फिर्ता गराएका थिए । वस्तुतः भगवान विष्णुले चाहेका भए राज बलिसित इन्द्रको मात्र होइन, उनकै समेत सत्ता खोस्न सक्ने थिए तर राजा बलिले वैधानिक तरिकाले नै स्वर्गको सत्ता हत्याएका थिए । त्यसैले यसका लागि उनले पनि वैधानिक तरिका नै अपनाउँदै राजा बलिको दरबारमा तीन पाइला जमीन माग्न पुगेका थिए । भगवान विष्णु जस्तो चराचरको मालिकलाई गर्भस्थ गरी दश महिनासम्म धारण गर्न चानचुने शक्तिले सक्ने त के सोच्नसम्म पनि सक्ने कुरा होइन तर माता अदितिले त्यसलाई समेत सहजै सम्पन्न गरेकी छन् । भगवान् विष्णुले इन्द्रको भाइ बनेर उनको कोखबाट जन्म लिएकाले उनको नाम उपेन्द्र रहन गएको हो ।
दैवी शक्ति अदितिलाई इन्द्रादि देवतासहित स्वयं भगवानका समेत माताको रूपमा प्रस्तुत गरिरहँदा स्वयं इन्द्रादि देवता भनेका को हुन् भन्नेबारे पनि केही प्रस्ट हुनुपर्ने देखिन्छ । वस्तुतः शतपथ ब्राह्मण ग्रन्थमा उल्लेख भएअनुसार अन्तरिक्षस्थानीय, द्यौस्थानीय र पृथ्वीस्थानीय गरी संसारमा ३३ किसिमका देवता रहेका छन् । यिनमा अष्टवसु, एकादशरुद्र, द्वादशादित्य, इन्द्र र प्रजापति पर्छन् । यीमध्ये अष्टवसु भनेका सूर्य, चन्द्रमा, नक्षेत्र, अन्तरिक्ष, अकाश, अग्नि, वायु, पृथ्वी पर्छन्, जसले जगत् बसाउने काम गरेका छन् भने एकादश रुद्रमा आत्मासहित दश प्राणवायु पर्छन् । आउँदा रुँदै आउने र जाँदा रुवाउँदै जाने भएकाले तिनलाई रुद्र भनिएको हो । त्यस्तै द्वादशादित्यको अर्थ १२ महिना अर्थात् समयसित सम्बन्धित नाम हो, जसले चराचर जगतको आयुलाई प्रतिदिन केही न केही क्षीण बनाउँदै लाने गरेको हुन्छ ।
अब आयो इन्द्र र प्रजापतिको कुरो । यसमा इन्द्र भनेको वर्षा, बादल वा मेघ र बिजुलीसित सम्बन्धित शक्तिको नाम हो भने प्रजापति भनेको यज्ञ र तत्सम्बन्धी अन्य प्रक्रियाको नाम हो जसले प्रकृतिको सृष्टि, स्थिति र लयसम्बन्धी विधि र विधानलाई व्यवस्थित गर्दै आएका छन् । यसैलाई कतै ईश्वर, कतै भगवान्, कतै परब्रह्म र कतै परमात्मा आदि भन्ने गरिएको पनि पाइन्छ । पौराणिक ग्रन्थमा उल्लेख भएका ३३ कोटि देवता भनेका पनि यिनीहरू नै हुन् । वास्तवमा ३३ कोटि भनिएको पनि आफैमा ३३ किसिमको भन्ने नै हो । अदिति यिनका समेत जनयित्री हुन् । त्यसैले संसारमा उनको स्थान कति माथि रहेछ भन्ने कुरो सोझै अनुमान लगाउन सकिन्छ ।
निस्सन्देह हाल उनको भौतिक शरीर त हामीले देखेका छैनौं तर आध्यात्मिक रूपले भने उनले अहिले पनि कणकणमा रहेर सारा संसारलाई गतिशील र व्यवस्थित बनाउँदै आएकी छन् ।